.

विराटनगर विमानस्थलबाट स्रोत नखुलेको ६ लाख ६५ हजार रुपैयाँसहित उपसचिव पक्राउ

विराटनगर विमानस्थलबाट स्रोत नखुलेको ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई मोरङका कार्यालय प्रमुख उपसचिव मिक्मार तामाङ पक्राउ परेका छन् ।

साउन ३ गते उनी पक्राउ परे पनि मोरङ प्रहरीले घटनाका बारेमा शुक्रबार मात्रै जानकारी दिएको हो । दोलखाको भीमेश्वर नगरपालिका–९ घर भएका तामाङ गत साउन ३ गते बुद्ध एयरको उडानमार्फत विराटनगरबाट काठमाडौं जाने क्रममा विमानस्थलको नियमित सुरक्षा जाँचका बेला प्रहरीको नियन्त्रणमा परेका हुन् ।

प्रहरीका अनुसार उनले बोकेको कालो झोलाभित्र १ हजार दरका ५१५ थान र ५०० दरका ३०० थान नोट गरी कुल ६ लाख ६५ हजार रुपैयाँ फेला परेको थियो । उक्त रकमको वैधानिक स्रोतका बारेमा सन्तोषजनक विवरण पेस गर्न नसकेपछि विमानस्थल सुरक्षार्थ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । तामाङले रकमको स्रोत खुलाउन नसकेको र अनुसन्धान अन्तिम चरणमा पुगेको कटवालले बताए । स्रोत नखुलेको सम्पत्ति सम्बन्धी कसुरमा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको हो । सम्भवतः अनुसन्धान प्रतिवेदन शुक्रबार नै जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइने उनको भनाइ छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया