.

इलामलाई ‘पर्यटन संकटग्रस्त क्षेत्र’ घोषणा गर्न नाटा कोशीको माग

अविरल वर्षा, बाढी र पहिरोका कारण पूर्वी पहाडी जिल्ला इलामको पर्यटन क्षेत्र गम्भीर संकटमा परेको भन्दै नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) कोशी प्रदेशले इलामलाई ‘पर्यटन संकटग्रस्त क्षेत्र’ घोषणा गर्न माग गरेको छ ।

नाटा कोशी प्रदेशका अध्यक्ष पुण्यप्रसाद भट्टराईले बिहीबार एक विज्ञप्ति जारी गर्दै मेची राजमार्गसहित इलाम प्रवेश गर्ने मुख्य तथा वैकल्पिक सडकहरू क्षतिग्रस्त हुँदा पर्यटकीय गतिविधि ठप्प भएको जनाएका छन् । सडक सम्पर्क विच्छेद हुँदा स्थानीय जनजीवन, होटल व्यवसाय, कृषि उत्पादन र आपूर्ति प्रणालीमा समेत गम्भीर असर परेको नाटाको ठहर छ ।

नाटाले संघीय र प्रदेश सरकारसँग इलामको पर्यटन पुनरुत्थानका लागि तत्काल विशेष राहत कार्यक्रम ल्याउन आग्रह गरेको छ । नाटाले सरकारसमक्ष विभिन्न ६ बुँदे माग समेत अघि सारेको छ । जसमा क्षतिग्रस्त सडक र पुलहरूको युद्धस्तरमा मर्मत गरी आवागमन सहज बनाउनुपर्ने, पर्यटन व्यवसायीलाई सहुलियतपूर्ण कर्जा, ब्याज छुट र करमा सहुलियत उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

यस्तै, विद्युत्, खानेपानी र सञ्चार सेवा तत्काल सुचारु गर्न र संकट टरेपछि इलाम भ्रमणका लागि विशेष प्रवद्र्धन अभियान चलाउन पनि नाटाले माग गरेको छ । ‘इलामको पर्यटन जोगाउनु भनेको कोशी प्रदेशकै अर्थतन्त्र र रोजगारी जोगाउनु हो,’ विज्ञप्तिमा उल्लेख छ ।

विपद्को यस घडीमा नाटाले स्थानीय पर्यटन व्यवसायी र नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सरकारी तथा निजी क्षेत्रलाई समन्वयात्मक ढंगले उद्धार र पुनर्निर्माणमा जुट्न अपिल गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया