.

लागुऔषध तस्करी गर्न दुई महिने छोराको प्रयोग, बाबु–आमासहित तीनजना पक्राउ

आफ्नै छोराले लगाएको डाइपरभित्र लागुऔषध ब्राउन सुगर भित्राउने बुबा– आमासहित तीनजना प्रहरी फन्दामा परेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा बिहीबार साँझ ५ः१५ बजेतिर भद्रपुर नगरपालिका–५ स्थित बसपार्कबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा अटो चालक भारत किसनगञ्ज जिल्ला घर भई हाल बिर्तामोड नगरपालिका–५ बस्ने ३० वर्षीय मोहित आलम, सोही अटोमा सवार उनकी श्रीमती ३२ वर्षीया जेनेतुन खातुन, सोही ठाउँका ३८ वर्षीय मोहम्मद तजरुल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

प्रहरीका अनुसार उनीहरूले आफ्नै दुई महिनाको छोरा सोहेल आलमलाई प्रयोग गरी भारतको गलगलियाबाट ब्राउन सुगर नेपाल भित्राएका थिए । बिर्तामोडबाट मे १ ह ५०११ नम्बरको अटो लिएर उनीहरू भद्रपुर नाका आइपुगेका थिए । अटो मेची पुलमा राखेर उनीहरू ब्राउन सुगर खरिद गर्न गलगलिया पुगेका थिए । 

त्यहाँबाट खरिद गरेका ब्राउन सुगरको सानो पोकालाई बच्चाले लगाएको डाइपरभित्र लुकाएर ल्याएका थिए । प्रहरीले चेकजाँच गर्दा डाइपरमा प्लास्टिकबाहेक ८ ग्राम ९४ मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।

यता वडा प्रहरीले बच्चासहित पक्राउ परेका तीन जनालाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय झापा पठाइसकेको छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया