.

सरोज मृत्यु प्रकरणमा बुबा, सौतेनी आमा र काका प्रहरी हिरासतमा, पाँच दिन म्याद थप

सुनसरीको इटहरी–९ भद्रटोलमा डेरा गरी बस्दै आएका सरोज न्यौपानेको मृत्यु प्रकरणमा उनका बुबा, सौतेनी आमा र दुई काका पक्राउ परेका छन्।

जनता माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत १७ वर्षीय न्यौपानेको मृत्यु प्रकरणमा अनुसन्धानका लागि उनीहरुलाई अदालतले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार सरोजलाई निरन्तर शारीरिक तथा मानसिक यातना दिई आत्महत्या गर्न बाध्य बनाएको आरोप छ । सोही आरोपमा इटहरी–९ कै मृतकका बुबा बुद्धिसागर न्यौपाने, सौतेनी आमा मुना न्यौपाने तथा काका अशोक न्यौपाने र नवराज न्यौपानेविरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी कसुरमा जाहेरी परेकोले प्रहरीले पक्राउ गरेको हो  ।

जाहेरीका आधारमा चारै जनामाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। सरोजको शव मावली पक्षलाई जानकारी नदिई दाहसंस्कार गर्न लागेको भन्दै उनका साथी तथा विद्यार्थीले विरोध गरेपछि घटना सार्वजनिक भएको थियो। उनीहरूले सरोजलाई परिवारकै सदस्यबाट भएको शारीरिक तथा मानसिक यातनाका कारण आत्महत्या गर्न बाध्य पारिएको दाबी गर्दै निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको माग गरेका छन्।

विद्यार्थीहरुले सरोज बस्दै आएको घर घेराउ गर्दै आन्दोलन थालेपछि प्रहरीले उनका बुबा, सौतेनी आमा र दुई काकालाई नियन्त्रणमा लिएको हो। पक्राउपछि शव थप परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ।

विद्यार्थीहरूले सरोजको आँखामा स्पष्ट चोट देखिएको दाबी गर्दै प्रारम्भिक अनुसन्धानमा त्यसलाई गम्भीर रूपमा नलिइएको आरोप लगाएका छन्। आन्दोलन चर्किएपछि मात्रै पक्राउ प्रक्रिया अघि बढाइएको भन्दै उनीहरूले प्रहरीको भूमिकामाथि समेत प्रश्न उठाएका छन्।

बुधबार साँझ विद्यार्थीले श्रद्धाञ्जली र्याली तथा कोणसभा आयोजना गर्दै घटनाको निष्पक्ष अनुसन्धान नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका थिए। बिहीबार पनि विद्यार्थी इटहरीको मुख्य चोकमा प्रदर्शनमा उत्रिए। उनीहरूले पक्राउ परेकालाई कुनै पनि बहानामा उन्मुक्ति नदिन, घटनाको निष्पक्ष अनुसन्धान गर्न र दोषी देखिएकामाथि कडा कानुनी कारबाही गर्न माग गरे।

विद्यार्थीको टोलीले इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेललाई भेटेर घटनाको सत्यतथ्य बाहिर ल्याउन तथा दोषीमाथि कारबाहीका लागि पहल गर्न आग्रह गरेको छ। मेयर पौडेलले सरोजको मृत्यु अत्यन्त दुःखद भएको बताउँदै घटनाको सत्यतथ्य पत्ता लगाउन निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताए। उनले कानुनी प्रक्रियामा आफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

सरोज साउन १९ गते दिउँसो घरमै झुन्डिएको अवस्थामा मृत भेटिएका थिए । प्रहरीका अनुसार उनलाई मृत फेला पार्दा कोठामा भित्रबाट चुक्कुल लगाइएको थियो ।

सरोज कान्छी आमा र बुबासँग बस्दै आएका थिए । उनलाई चार दिन देखि खाना खान नदिई कोठामा थुनेर शारीरिक तथा मानसिक तनाव दिएकै दाबी गरिएको छ । प्रहरीले भने अहिले नै घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

अदालतको अनुमतिसँगै चारै जनामाथि अनुसन्धान अघि बढेकाले सरोजको मृत्युको वास्तविक कारण, परिवारका सदस्यबाट यातना दिइएको भनिएको विषय तथा आत्महत्या दुरुत्साहनको आरोपबारे अनुसन्धानबाट थप तथ्य खुल्ने प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया