कोशी लोकमार्गअन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिका–६ चारखोले गोलाईमा आइतबार बिहान यात्रु वाहक बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । धरानबाट तेह्रथुमतर्फ जाँदै गरेको को १ ख ५१०५ नम्बरको बस बिहान करिब ११ः१५ बजेतिर अनियन्त्रित भई सडकको छेउमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परी तेह्रथुमको छथर गाउँपालिका–१ की ११ वर्षीया नुमा लिम्बू, छथर–४ का ६९ वर्षीय कविराज थापा रa सोही ठाउँकी ५६ वर्षीया शुकमाया लिम्बू घाइते भएका छन् । घाइतेहरूको शरीरका विभिन्न भागमा चोट लागे पनि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते तीनै जनालाई तत्काल उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । दुर्घटनाग्रस्त बस सडकको छेउमा रहेकाले कोशी लोकमार्गमा सवारी आवागमनमा कुनै अवरोध नरहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।