जाजरकोटको भेरी नगरपालिका(२ स्थित रिसाङ इलाकामा आएको लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। पहिरोमा परेर बेपत्ता भएका अन्य दुई जनाको खोजीकार्य जारी छ।
जिल्ला अस्पताल जाजरकोटमा उपचारपछि नेपालगञ्ज रिफर भई मेडिकल कलेज कोहलपुरमा उपचाररत ५२ वर्षीय केदार कार्कीको मृत्यु भएको अस्पतालले जनाएको छ। यसअघि खोजीका क्रममा ५४ वर्षीया उमा सिंह खत्री र ८३ वर्षीया रती खत्रीको शव फेला परेको थियो।
पहिरोमा परी ७० वर्षीय भीमबहादुर कार्की र १४ वर्षीय हरिस विक अझै बेपत्ता छन्। उनीहरूको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको कमान्डमा विपद् व्यवस्थापन तालिमप्राप्त संयुक्त टोली परिचालन गरिएको छ।
शनिबार साँझ आएको पहिरोमा परी अन्य सात जना घाइते भएका छन्। घाइतेमध्ये रामबहादुर शाही र भद्रकला कार्कीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगञ्ज र सुर्खेत पठाइएको छ। पहिरोले स्थानीय आठ वटा घरमा क्षति पुर्याएको सशस्त्र प्रहरीका केन्द्रीय सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।