विराटनगर महानगरपालिका ठूलोमिल–पुष्पलाल चोकसम्मको सडक मर्मत भएको दुई वर्ष नबित्दै पुनः उस्तै अवस्था भएपछि स्थानीयवासी आक्रोशित बनेका छन्। उक्त सडक २०८१ सालको कात्तिक महिनामा मर्मत–सम्भार गरिएको थियो। तर, मर्मत भएको केही समयमै सडकमा पुनः खाल्डा पर्न थालेको हो । महानगरपालिकाले त्यसपछि पनि सडकका विभिन्न स्थानमा परेका खाल्डामा ढलान गरेको थियो । तर, अस्पाल्ट नटिक्ने सडकको ढलान एकवर्षपनि टिक्न नसक्दा अहिले रड बाहिर निस्कन थालेका छन्।
सडकको दुरअस्थाबारे स्थानीयवासीले विराटनगर महानगरपालिकामा पुगेर नगरप्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीको ध्यानाकर्षणसमेत गराएका थिए। पटक–पटक गुनासो गर्दा पनि समस्या समाधान नभएपछि स्थानीय सडक अवरुद्ध गर्न बाध्य भएका थिए। सडक अवरुद्ध गर्ने क्रममा कोशी प्रदेशका कानुनमन्त्री इन्द्रमणि पराजुली सवार गाडीसहित स्थानीयले घेराउ गरेका थिए। त्यसपछि प्रशासनसँग भएको छलफलमा तत्काल सडकका खाल्डामा माटो हाल्ने र केही दिनभित्रै सडक मर्मत गर्ने सहमति भएपछि स्थानीयले अवरोध हटाएका थिए। तर सहमति भएको लामो समय बितिसक्दा पनि सडकको स्थायी मर्मत हुन सकेको छैन।
स्थानीयका अनुसार सडकमा ठूला–ठूला खाल्डा तथा बाहिर निस्किएका रडका कारण विशेषगरी रातिको समयमा दुर्घटनाको जोखिम बढेको छ। उनीहरूले उक्त सडकका खाल्डामा परी धेरै जना दुर्घटनामा परेको र कतिपय व्यक्ति गम्भीर दुर्घटनाबाट जोगिएको बताएका छन्।
स्थानीयवासीले पटक–पटक सडक मर्मतका लागि आग्रह गरे पनि महानगरपालिकाले आफूहरूको गुनासोलाई बेवास्ता गरेको आरोप लगाएका छन्। यता विराटनगर महानगरपालिका योजना शाखाका इन्जिनियर सुजन श्रेष्ठले स्थानीयको गुनासोपछि सडक मर्मतका लागि आवश्यक इस्टिमेट तयार भइसकेको बताएका छन्। उनका अनुसार अबको केही दिनभित्रै सडक मर्मतको काम अगाडि बढाइनेछ।
स्थानीयका अनुसार उक्त सडक दुई लेनको मात्र हो। सामान्य चारपाङ्ग्रे सवारीसाधन आवतजावतका लागि निर्माण गरिएको सडकमा पछिल्लो समय बालुवा, गिट्टी तथा अन्य निर्माण सामग्री बोकेका ठूला ट्रकसमेत नियमित रूपमा गुड्न थालेका छन्। सडकको क्षमताभन्दा बढी भार भएका सवारीसाधन सञ्चालन हुँदा सडक चाँडै बिग्रिएको स्थानीयको भनाइ छ।
हाल दुई लेनको सडकमा क्षमताभन्दा ठूला तथा भारी सवारीसाधन सञ्चालन भइरहेकाले सडक थप क्षतिग्रस्त हुँदै गएको छ। स्थानीयले सडक तत्काल मर्मतसँगै सडकको क्षमताभन्दा बढी भार बोकेका ठूला सवारीसाधनको आवतजावतमा समेत नियमन गर्न माग गरेका छन्।
विराटनगरमा अहिले कन्चनबारी–ठूलो मिल सडकको कोशी राजमार्ग जोडिएको भागमा पोखरी जस्तो खाल्डो परेको छ । ट्राफिक लाइट भएको यो क्षेत्रमा उत्तरतर्फबाट आउने सवारी ठूलोमिलतर्फ मोड्न समेत असहज हुने गरेको छ । यसैगरी ठूलोमिलबाट कन्चनबारी मोड्ने ठाउँमा समेत सडक भत्केको छ । त्यस बाहेक आयल निगम पूर्व बुद्धचौक लाग्ने मोडमा समेत खाल्डो परेर सवारी कटाउन नसक्ने स्थिति भएको छ । महानगरपालिका भरी अहिले सडक खाल्डाखुल्डी भएपनि मर्मतको लागि ध्यान भने पुगेको देखिदैन ।