.

मोरङको सीमावर्ती जोगवनी नाकामा कडाइ : नेपाल प्रवेश गर्न परिचयपत्र अनिवार्य

मोरङको सीमावर्ती जोगवनी नाकामा कडाइ गरिएको छ ।  जोगबनी हुँदै नेपाल–भारत आवतजावत गर्ने दुवै देशका नागरिकले अब अनिवार्य रूपमा परिचयपत्र देखाउनुपर्ने भएको छ।

सीमामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले जोगबनी प्रवेश गर्ने नेपाली नागरिक तथा भारतबाट नेपाल आउने भारतीय नागरिकको परिचयपत्र जाँच गर्न थालेका छन्। यसबारे जानकारी गराउन सशस्त्र प्रहरीले हिजो शनिबार सीमा क्षेत्रमा माइकिङसमेत गरेको छ।

भारतबाट नेपाल आउने भारतीय नागरिकले आधार कार्ड वा अन्य सरकारी परिचयपत्र देखाउनुपर्नेछ भने नेपाली नागरिकले राष्ट्रिय परिचयपत्र वा नागरिकता पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

भारतको जोगवनी हुँदै नेपाल प्रवेश गर्नेहरूका सुरक्षा निगरानीसहित परिचयपत्र अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । जिल्ला सुरक्षा समितिको बैठकले सीमा क्षेत्रमा हुने अवैध घुसपैठ र आपराधिक गतिविधि नियन्त्रण गर्न कडाइ गर्ने निर्णय गरेको हो । 

त्यसअनुसार सीमा नाकाबाट नेपाल प्रवेश गर्ने हरेक व्यक्तिले आफ्नो पहिचान खुल्ने आधिकारिक कागजात अनिवार्य रूपमा देखाउनुपर्नेछ । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल नेतृत्वको टोलीले हिजो जोगवनी–विराटनगर सीमा क्षेत्रमा स्थलगत अनुगमनसहित नयाँ व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन समेत दिएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया