.

रानी–जोगबनी नाकामा कडाइ : पैदल यात्रुका लागि छुट्टै मार्ग, भन्सार छली नियन्त्रणमा सहजता

नेपाल–भारत सीमासँग जोडिएको विराटनगरको रानी–जोगबनी नाकामा सुरक्षा जाँचलाई व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालय मोरङले पैदल यात्रुका लागि छुट्टै मार्ग निर्माण गरेको छ।

सीमाबाट हुने आवतजावतलाई व्यवस्थित बनाउँदै भन्सार छली नियन्त्रण र सुरक्षा जाँचलाई प्रभावकारी बनाउने उद्देश्यले नयाँ व्यवस्था लागू गरिएको हो ।प्रशासनका अनुसार भारतबाट नेपाल प्रवेश गर्ने पैदल यात्रु र सवारीसाधनका लागि छुट्टाछुट्टै मार्ग बनाएपछि सुरक्षा जाँच प्रक्रिया सहज भएको छ।

यसअघि सीमाबाट भित्रिने सामानको मुख्य जाँच ‘२ नम्बर ढाट’ क्षेत्रमा हुने गरेकोमा अब सीमामै प्रारम्भिक जाँच सुरु गरिएको छ । भारतीय बजारमा नेपालभन्दा कम मूल्यमा घरायसी सामग्री पाइने भएकाले विराटनगर, इटहरी, धरानलगायतका क्षेत्रबाट दैनिक ठूलो संख्यामा सर्वसाधारण किनमेलका लागि जोगबनी जाने गरेका छन् ।

सशस्त्र प्रहरीका एक अधिकारीका अनुसार नयाँ व्यवस्थापछि यात्रु र सवारीसाधनको आवागमन थप व्यवस्थित भएको छ। यसले सुरक्षा जाँच छिटो, सहज र प्रभावकारी बनाउनुका साथै दैनिक किनमेल गरेर फर्किने सर्वसाधारण र व्यावसायिक रूपमा सामान ओसारपसार गर्ने व्यक्तिलाई छुट्याउन पनि सहयोग पुगेको छ ।

नयाँ सरकार गठनपछि सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी थप कडा पारिएको छ । त्यसको प्रभावस्वरूप भन्सार छली गरी सामान भित्र्याउने गतिविधिमा कमी आएको सुरक्षा निकायको दाबी छ।

प्रशासनले सुरु गरेको नयाँ व्यवस्थाले सीमामा हुने भीड नियन्त्रण, यात्रुको सहज आवतजावत, सुरक्षा जाँचको प्रभावकारिता वृद्धि र भन्सार छली नियन्त्रणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरेको छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया