.

अब कुनै पनि प्रकारको द्वन्द्व हुनु हुँदैन, सबै मिलेर बस्नुपर्छ : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले अब कुनै पनि प्रकारको द्वन्द्व हुन नहुने र सबै मिलेर बस्नुपर्नेमा जोड दिनुभएको छ । 

धनुषामा हिन्दुवादी सङ्गठनलगायतका आन्दोलनकारी पक्षसँगको छलफलपछि सञ्चारकर्मीसँग उहाँले सबै नागरिक आपसी मेलमिलापका साथ बस्नुपर्नेमा जोड दिनुभयो । उहाँले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्नु सबैको साझा दायित्व रहेको समेत बताउनुभएको छ । 

गृहमन्त्री गुरुङले देशको शान्ति सुरक्षा र एकतालाई मजबुत बनाउन सबै पक्ष मिल्नुको विकल्प नरहेको दोहोर्याउनुभयो । उहाँले पछिल्लो समय देखिएका विवादलाई संवादका माध्यमबाट समाधान गर्दै अघि बढ्न सरोकारवाला सबै पक्षलाई आग्रह समेत गर्नुभएको छ । 

गृहमन्त्री गुरुङसहितको सरकारी वार्ता टोली र हिन्दूवादी सङ्गठनका प्रतिनिधिबीच १३ बुँदे सहमति भएको छ । सुनसरीको देवानगन्ज–३, कप्तानगन्जमा गएको आइतबार राति युवाहरूको समूहबीच भएको घटनापछि अशान्त बनेको तराई–मधेशको जनजीवन बिस्तारै लयमा फर्कन थालेको छ । 

सरकार, विपक्षी दल, नागरिक समाज, सामाजिक संघसंस्था, विभिन्न धर्मका गुरु र स्थानीय समुदायको सर्वपक्षीय पहलपछि झण्डै एक हप्तापछि तनाव कम हुँदै गएको हो । सुनसरी, सिरहा, सप्तरी, धनुषा, पर्सालगायतका ठाउँमा सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको छ भने ठाउँ ठाउँमा सद्भाव र्याली र आपसी संवादले निरन्तरता पाएको छ । 

आज सुनसरी, सप्तरीलगायतका विभिन्न ठाउँमा सद्भाव र्याली निकाल्ने तयारी छ । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजारमा कफ्र्यु आदेश आज बेलुका ७ बजेसम्मका लागि खुकुलो बनाइएको छ ।

यसैबिच

जिल्ला प्रशासन कार्यालय सुनसरीले चारवटा गाउँपालिका क्षेत्रमा आज साँझ ७ बजेसम्म निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनामा बिहान ९ः३० देखि साँझ ७ बजेसम्म देवानगञ्ज, हरिनगर, कोशी र भोक्राहा नरिसंह गाउँपालिका क्षेत्र पूरै निषेधाज्ञा जारी गरिएको उल्लेख छ। जिल्ला प्रशासन कार्यालयले यसअघि १० वटा स्थानीय तहमा जारी गरेको निषेधाज्ञा क्रमशः घटाउँदै लगेको छ। आज (आइतबार) दिनभर पूरै सहज भएमा भोलिबाट निषेधाज्ञा पनि हटाउन सकिने जानकारी दिइएको छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया