.

विराटनगरमा देशभरकै उच्च वर्षा

पछिल्लो २४ घण्टामा देशभर भएका वर्षा मापन केन्द्रहरूमध्ये मोरङको विराटनगर विमानस्थल केन्द्रमा सबैभन्दा बढी वर्षा रेकर्ड गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरण अनुसार, साउन १८ गते बिहान ८ः४५ देखि साउन १९ गते बिहान ८ः४५ बजेसम्म विराटनगर विमानस्थल केन्द्रमा १५१.६ मिलिमिटर वर्षा मापन गरिएको हो ।

प्राधिकरणका अनुसार यस अवधिमा देशभरका कूल ४३७ वर्षा मापन केन्द्रमध्ये ३६५ वटा केन्द्रमा वर्षा भएको अभिलेखीकरण भएको छ । मनसुन सक्रिय रहेकाले देशका अधिकांश भागमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा भएको तथ्यांकले देखाउँछ ।

।इसैबिच

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार इलाममा मुसलधारे वर्षाको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय इलामले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रशासनले सूचना जारी गर्दै आज दिउँसो १ बजेदेखि ३ बजेसम्म मुसलधारे वर्षा हुन सक्ने जनाएको छ। भारी वर्षाका कारण बाढी, पहिरो, नदी कटान, गेग्रान बहाव र डुबानको जोखिम रहने भएकाले आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन अनुरोध गरिएको छ।

वर्षाको समयमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र सवारी साधनको यात्रा रोकेर सुरक्षित स्थानमा बस्न प्रशासनले भनेको छ। बाढी र पहिरोको जोखिममा रहेका नदी किनार तथा भिरालो जमिन नजिकका बासिन्दालाई विशेष सजग रहन आग्रह गरिएको छ।

सम्भावित जोखिमलाई ध्यान दिँदै सुरक्षित स्थानमा स्थानान्तरण हुनुपर्ने अवस्था आउन सक्ने भएकाले स्थानीय तह र सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशनसमेत दिइएको छ।

विपद्को समयमा सहयोगका लागि १२३४, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बलको १११४ मा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया