विराटनगर । नेपाली राष्ट्रिय फुटबल टोलीकी स्टार स्ट्रइकर सावित्रा भण्डारी ‘साम्बा’ साफ महिला च्याम्पियनसिप २०२४ को लागि फ्रान्सबाट आइतबारमात्रै स्वदेश फर्किने भएकी छन्। युएईको अबुधावी कन्ट्री क्लबमा आबद्ध स्ट्रइकर रेखा पौडेल भने स्वदेश फर्केर राष्ट्रिय टोलीमा फर्किसकेकी छिन्।
फ्रान्सेली महिला फुटबलमा शीर्ष श्रेणीको लिग क्लबमा आबद्ध सम्बाबारे अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले भन्नुभयो, ‘एन्फाले अनुरोध गरे पनि साम्बालाई क्लबले लिगमा महत्त्वपूर्ण खेलका लागि अत्यावश्यक रहेको भन्दै छाड्न मानेन। त्यसैले उनी साफमा नेपालको पहिलो खेलमा उपलब्ध हुने छैनन्। उनी २० अक्टोबर (आइतबार) स्वदेश फर्किदैछन् र साफमा दोस्रो खेलदेखि नेपाली टोलीमा हुनेछिन्।’