विश्व फुटबल महासंघ ९फिफा० वरीयतामा नेपाली राष्ट्रिय फुटबल टिम ६ स्थान उक्लिएको छ । बिहीबार फिफाले अध्यावधिक गरेको नयाँ वरीयतामा नेपाल ६ स्थान बढुवा भएको हो । उक्त वरीयता सूची अनुसार अहिले नेपाल १८२ बाट १७६ स्थानमा पुगेको छ ।
नेपालले यस वर्ष साउदी अरबमा सन् २०२७ मा हुने एएफसी एसियन कप क्वालिफायर्समा एक जित हासिल गरेको थियो । मलेसियाले नेपालविरुद्ध अनधिकृत खेलाडीहरू खेलाएको पुष्टि भएपछि, एसियाली फुटबल महासंघ ९एएफसी० ले उक्त खेल उल्ट्याउँदै नेपाल ३–० ले विजयी भएको घोषणा गरेको थियो ।
सोही वरीयतामा बंगलादेश एक स्थान घटुवामा परेपछि १८१औँ स्थानमा झरेको छ । भुटान पनि ६ स्थान बढुवामा पर्दा १८६औँ स्थानमा उक्लिएको छ । २०२औँ स्थानमा पुगेको पाकिस्तान तीन स्थान झरेको छ । तीन उक्लिएको श्रीलंकाले १९१औँ वरीयता कायम गर्दा पाँच स्थान बढुवा भएको भारत १३६औँ स्थानमा छ । एक स्थान बढुवा भएपछि माल्दिभ्स १७२ औँ स्थानमा उक्लिएको छ ।
फिफाले आजै पुरुषसँगै महिलातर्फ पनि वरीयता सूची अध्यावधिक गरेको छ । जस अनुसार नेपाली राष्ट्रिय महिला फुटबल टिम दुई स्थानमा बढुवा हुँदै ८६औँ स्थानमा पुगेको छ । भारत दुई स्थान घटुवामा परेपछि ६९औँ स्थानमा झरेको छ । बंगलादेश ११२औँ, पाकिस्तान १५४औँ र माल्दिभ्स १६७औँ स्थानमा यथावत् छ । एक स्थान उक्लिएको श्रीलंका १६२औँ स्थानमा रहँदा भुटान १६४औँ स्थानमा छ ।