ताप्लेजुङको मैवाखोला गाउँपालिका–६, हाफाबुङमा आगलागी हुँदा घर जलेर पूर्णरूपमा नष्ट भएको छ । बिहीबार बिहान स्थानीय रामकुमार लिम्बूको काठ, ढुङ्गा, माटो तथा टिनले छाएको तीन तले घरमा आगलागी भएको थियो ।
घरको माथिल्लो कोठामा ६ वर्षीया आइसा लिम्बूले लाइटर खेलाउँदा अचानक आगो सल्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक ९डिएसपी० बेदप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार आगलागीबाट तीन तले घर पूर्णरूपमा जलेर नष्ट भएको छ।
साथै, आगलागीबाट करिब १६ लाख रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। यद्यपि, आगलागीबाट कुनै मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ । आगो प्रहरी, नेपाली सेना र स्थानीयवासीको संयुक्त प्रयासमा पूर्णरूपमा नियन्त्रणमा लिइएको छ ।