सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको अस्वभाविक आर्जनबारे सूचना तथा उजुरी दिन सर्वसाधारणसँग आह्वान गरेको छ ।
आयोगले राजनीतिक पदाधिकारीदेखि सरकारी कर्मचारीसम्मले गैरकानूनी ढङ्गले सम्पत्ति आर्जन गरेको आशङ्का भए प्रमाणसहित जानकारी उपलब्ध गराउन आग्रह गरेको हो । आयोगका अनुसार सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरूले आफू, परिवार, आफन्त वा अन्य व्यक्तिको नाममा नेपाल तथा विदेशमा सम्पत्ति लुकाएर राखेको हुनसक्ने भएकाले त्यस्ता विवरण सङ्कलन गर्न सूचना जारी गरिएको हो ।
आयोगले शङ्कास्पद व्यक्तिको सम्पत्तिसम्बन्धी विवरण, सम्पर्क नम्बर तथा इमेल उपलब्ध गराइदिन पनि आग्रह गरेको छ । उजुरीकर्ताको पहिचान पूर्णरूपमा गोप्य राखिने आयोगले स्पष्ट पारेको छ ।
आयोगले सकेसम्म कार्यालयमै उपस्थित भएर सूचना दिन आग्रह गरे पनि उपस्थित हुन नसक्नेले हुलाक वा इमेलमार्फत पनि उजुरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको जनाएको छ । यद्यपि त्यस्ता उजुरीमा नाम, ठेगाना र सम्पर्क नम्बर खुलाउनुपर्नेछ ।
यसैबीच आयोगले प्रधानमन्त्रीदेखि सहसचिवस्तरसम्मका बहालवाला तथा अवकाश प्राप्त सार्वजनिक पदाधिकारीलाई एक महिनाभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ । सङ्घीय सांसद, पालिकाका प्रमुख तथा उपप्रमुखलगायत दायराभित्र पर्ने सबै पदाधिकारीलाई अनिवार्य रूपमा सम्पत्ति विवरण पेश गर्न भनिएको आयोगले जनाएको छ ।