भारतको उत्तर प्रदेशमा बुधबार राति आएको भीषण हावाहुरी, वर्षा र असिनापानीका कारण राज्यभर ठूलो जनधनको क्षति भएको छ । राज्य आपदा व्यवस्थापन तथा राहत कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विपत्तिमा परी हालसम्म ८९ जनाको ज्यान गएको छ, भने ५३ जना घाइते भएका छन् । त्यस्तै ८७ वटा घरमा क्षति पुग्नुका साथै ११४ वटा पशुचौपायाको मृत्यु भएको छ ।
हावाहुरीका कारण विभिन्न स्थानमा रुख र ठूला होर्डिङ बोर्डहरू उखेलिएका छन्। केही स्थानमा गुडिरहेका कारहरूमा रुख बज्रिँदा र घरका पर्खालहरू भत्किँदा मानवीय क्षति बढी भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेको छ । सडक किनारका काठका पसलहरूमा पनि धुलो र मलबेका कारण व्यापक क्षति पुगेको छ ।
उत्तर प्रदेशका राहत आयुक्तको आधिकारिक (एक्स) ह्यान्डलबाट जारी बयान अनुसार, मुख्यमन्त्री योगी आदित्यनाथले यस घटनालाई गम्भीरतापूर्वक लिँदै तत्काल उद्धार र राहतका लागि निर्देशन दिएका छन् ।
राहत आयुक्तको कार्यालयका अनुसार मे १३ मा खराब मौसमका कारण भएको जनधनको क्षतिको बारेमा मुख्यमन्त्रीले जानकारी लिएका छन् ।
साथै उनले सबै मण्डलायुक्त र जिल्लाधिकारीहरूलाई आगामी २४ घण्टाभित्र प्रभावित परिवारहरूलाई राहत रकम वितरण गरी सहयोग पुर्याउन निर्देशन दिएका छन् । अहिले प्रभावित क्षेत्रमा स्थानीय प्रशासनले क्षतिको पूर्ण विवरण सङ्कलन गर्ने र राहत सामग्री वितरण गर्ने कार्यलाई तीव्रता दिएको छ ।