एसियन गेम्स अगाडिको अभ्यास खेलमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियामाथि लगातार दोस्रो जित हात पारेको छ।
शुक्रबार भएको दोस्रो टी–२०आई खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको हो।
मलेसियाले दिएको ८३ रनको लक्ष्य नेपालले १६ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो। नेपालको लागि सम्झना खड्काले अविजित ३९ रन बनाइन्। यस्तै, कविता कुँवरले पनि अविजित १९ रन बनाउँदा सोनी पाख्रिनले १२ रन जोडिन्।
बलिङतर्फ मलेसियाका लागि नुर दानिया, आइसा एलिसा र आइना हमिजाले १÷१ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर ८२ रन बनाएको थियो। उसका लागि आइना हमिजाले १७, धनुश्रीले १५ र आरियाना नताशाले १३ रन बनाएकी थिइन्।
नेपालका लागि कविता कुँवर, रिया शर्मा र रुबिना क्षेत्रीले २÷२ विकेट लिइन् भने पूजा महतो र सीता रानामगरले १÷१ विकेट हात पारे।
यसअघि पहिलो खेलमा पनि नेपालले मलेसियालाई हराएको थियो।