झण्डै डेढ वर्षदेखि तलबभत्ता खान नपाएको भन्दै पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजलेका कर्मचारीले आन्दोलन थालेका छन्। तलबभत्ता पाउनका लागि ‘उसिउलि कर्मचारी संघर्ष समिति गठन’ गरेका उनीहरूले शुक्रबार विहान पत्रकार सम्मेलन गरि आन्दोलन थालेको घोषणा गरेका हुन्। संघर्ष समितिका प्रवक्ता आनन्द कुर्मीले १४ महिनादेखि कर्मचारी मजदुरले तलबभत्तालगायत कुनै पनि सेवासुविधा नपाएकाले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको दुःखेसो गरे।
संघर्ष समितिका अनुसार कर्मचारीलको ४५ महिनादेखि तलबभत्ताबाट कट्टा गरेको सञ्चयकोष र ३५ महिनाको नागरिक लगानी कोष तथा ३ वर्षको बिमावापतको रकम पनि हालसम्म जम्मा गरिएको छैन। त्यस्तै अवकाश प्राप्त १ सय ३९ जना कर्मचारी मजदुरको निवृत्तिभरण (उपदान) भुक्तानी भएको छैन।
संघर्ष समितिका संयोजक देवेन्द्र झाले उद्योगमा कार्यरत कर्मचारी मजदुरहरूको दायित्व विवरणबारे जानकारी दिँदै २०८२ चैत मसान्तसम्म ८ करोड ८० लाख ५३ हजार ०६६ रुपैयाँ तलबभत्ता भुक्तानी लिन बाँकी रहेको बताए। त्यस्तै सञ्चयकोष ९ करोड ५० लाख ८९ हजार १ सय ३४ दाखिला गर्त बाँकी छ भने नागरिक लगानी कोषवापतको रकम ३ करोड ६९ लाख ६६ हजार २ सय २२ रुपैयाँ बाँकी रहेको झाको भनाइ छ।
आर्थिक वर्ष २०८०÷०८१ को २ वर्षको बिमावापतको रकम ६ करोड ७० लाखपनि भुक्तानी गर्न बाँकी छ। त्यस्तै सुरक्षाकर्मीको १३ महिनाको तलबभत्ता वापत २ करोड १३ लाख रुपैयाँ बाँकी रहेको जानकारी पत्रकार सम्मेलनमा दिइएको छ।