.

सडक निर्माणमा ढिलाइ हुदा, विराटनगरको फोहर व्यवस्थापन झन् अस्तव्यस्त बन्दै

विराटनगर महानगरपालिका भित्र घर–घरबाट उठाइने फोहर समयमा व्यवस्थापन नहुँदा स्थानीयवासीको गुनासो दिनप्रतिदिन बढ्दै गएको छ। विगत केही महिनादेखि फोहर संकलन, बिसर्जन नियमित रूपमा भइरहेको गुनासो बढ्दो छ । स्थानीयले घर तथा सडकमा उत्पादन भएको फोहोर थुप्रिँदा वातावरण प्रदूषित हुनुका साथै स्वास्थ्यमा असर पर्ने, लामखुट्टे बढ्न थालेको बताएका हुन् ।

व्यवसायीहरूले पनि फोहर व्यवस्थापनमा ढिलाइ हुँदा बजार क्षेत्र प्रभावित बनेको बताएका छन्। उनीहरूका अनुसार फोहर बोकेका गाडीहरू बजारमै दुई–दुई दिनसम्म रोकिने गरेको छ । फोहर समयमा नउठ्नुको मुख्य कारण महानगरले तोकेको डम्पिङ साइटसम्म पुग्ने सडक निर्माण पूरा नहुनु रहेको बताइएको छ। सडक निर्माणाधीन छ । तर, समयमा काम नहुँदा समस्या बढ्दो छ । फोहर बोकेका गाडीहरू खेत हुँदै वैकल्पिक बाटो प्रयोग गर्न बाध्य छन्।

तर पछिल्ला दिनमा वर्षा र खेतमा पानी जम्न थालेपछि गाडीहरू हिलोमा फस्ने तथा आवतजावतमा समस्या हुने गरेको चालकहरूले बताएका छन्। जसका कारण दैनिक फोहर व्यवस्थापन थप प्रभावित बनेको देखिन्छ।

जिल्ला प्रशासन कार्यालय र विराटनगर महानगरपालिकाबीच भएको सहमतिअनुसार पहिलो प्राथमिकतामा कच्ची सडक तत्काल निर्माण गर्ने निर्णय भए पनि हालसम्म सडक निर्माण पूरा हुन सकेको छैन।

विराटनगर महानगरपालिकाको शहरी विकास तथा भौतिक पूर्वाधार महाशाखाका प्रमुख अर्जुन थापाले सडक निर्माण कार्य तीव्र रूपमा भइरहेको बताए। उनका अनुसार हाल सडक निर्माणकै कारण वैकल्पिक साना बाटाहरू प्रयोग भइरहेको र वर्षाका कारण गाडी सञ्चालनमा थप समस्या आएको हो । यता, फोहर डम्पिङ साइटसम्म पुग्न नसकेपछि कतिपय अवस्थामा पुरानै डम्पिङ साइटमा फोहर फाल्ने गरिएको स्थानीयको आरोप छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया