विराटनगर ३ जेठ । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई बर्खास्त गरिएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले जानकारी दिनुभयो ।
गत वैशाख १४ गतेदेखि १६ गतेसम्म झापामा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने क्रममा ब्यानरमा आयोजकको रुपमा कोशी प्रदेशको नाम उल्लेख नभएको भन्दै उनलाई मन्त्रालयले दुईपटक स्पष्टीकरण सोधेको थियो ।
तर, तोकिएको समयभित्र वाग्लेले स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नदिएकाले बर्खास्त गरिएको मन्त्री राजभण्डारीले जानकारी दिनुभयो । तत्काली गठबन्धन सरकारका मुख्यमन्त्री राजेन्द्रकुमार राईले पर्शुराम बस्नेतलाई बोर्डको सदस्य सचिवबाट हटाएर वाग्लेलाई नियुक्त गर्नुभएको थियो ।