.

युद्ध अन्त्य गर्न इरानलाई दबाब सिर्जना गर्दै अमेरिका

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध रोक्ने र परमाणु कार्यक्रमसँग जोडिएको सम्झौताको धेरै नजिक पुगेको दाबी गरेका छन्। साथै उनले वार्ता विफल भएमा फेरि बमबारी सुरु गर्न सकिने चेतावनी पनि दिएका छन्। यसअघि हिजो बुधबार अमेरिकी वेबसाइट एक्सियोसको रिपोर्टमा इरानले ४८ घण्टाभित्र युद्धविरामलाई लिएर सहमति जनाउन सक्ने बताइएको थियो। यद्यपि इरानले यसबारे कुनै स्पष्ट जवाफ दिएको छैन।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सम्झौता नजिक पुगेको खबरलाई बढाइचढाइ गरिएको बताएका छन्। उनले आफूहरूले प्रस्तावको जवाफ नदिएको तर पाकिस्तानमार्फत वार्ता भने जारी रहेको बताए।

इरानी सञ्चारमाध्यमका रिपोर्टहरूमा अमेरिकी प्रस्तावमा स्वीकार गर्न नसकिने केही सर्तहरू रहेको उल्लेख गरिएका छन् तर, ती के हुन् भन्नेबारे बताइएको छैन । इरानी संसद्को विदेश मामिला समितिका प्रवक्ता इब्राहिम रेजाईले यसलाई इच्छा सूची (विशलिस्ट) भनेका छन्।

रिपोर्टका अनुसार दुई देशबीच १४ बुँदे सम्झौता तयार भएको छ। यद्यपि यसले अहिलेसम्म अन्तिम रूप पाइसकेको छैन, तर वार्ता पहिलेभन्दा धेरै अघि बढिसकेको छ।

अमेरिकाले स्ट्रेट जलसन्धिमा जहाजहरूको आवागमन पुनः सुचारु गराउन राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा नयाँ प्रस्ताव पेस गरेको छ। अर्कोतर्फ इरानले सदस्य राष्ट्रहरूलाई यो प्रस्ताव खारेज गर्न अपिल गरेको छ।

उता, चीन र इरानबीच बेइजिङमा उच्चस्तरीय बैठक भएको छ। चीनले युद्ध तत्काल रोक्न आग्रह गर्दै इरानलाई समर्थनको आश्वासन दिएको छ। ट्रम्पले अमेरिकी सैन्य कारबाहीपछि इरानको नौसेना, वायुसेना, मिसाइल प्रणाली र रडार नेटवर्कमा भारी क्षति पुगेको दाबी गरेका छन्। उनले स्थिति आफ्नो नियन्त्रणमा रहेको र यदि सम्झौता नभएमा अमेरिकाले पहिलेभन्दा ठूलो आक्रमण गर्ने बताए।

अमेरिकी सञ्चार माध्यमहरूका अनुसार, इरान–अमेरिकाबीच युद्ध रोक्नका लागि जुन १४ सर्तहरूको सम्झौता तयार गरिएको छ, त्यसका बुँदाहरू आधिकारिक रूपमा सार्वजनिक गरिएका छैनन्।  

यस वार्तालाई अगाडि बढाउन अमेरिकी दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ जेरेड कुश्नरको महत्त्वपूर्ण भूमिका रहेको छ। उनीहरू पाकिस्तान र अन्य मध्यस्थकर्ताहरूमार्फत इरानसँग वार्ता गरिरहेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया