.

आज संवैधानिक परिषदको बैठक , प्रधानन्यायाधीशको नाम सिफारिस हुँदै

संवैधानिक परिषदको बैठक आज साँझ ५ बजे बस्ने भएको छ । बैठकमा नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस सम्बन्धी प्रस्तावमा छलफल हुने जनाइएको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण गत चैत १८ गते अवकाश भएपछि वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीशका रूपमा कार्यरत छन् । संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीश सिफारिस गर्ने परिषद् बैठकमा प्रधानन्यायाधीशको सट्टा कानुन मन्त्री सदस्य रहने व्यवस्था छ भने कायममुकायम प्रधानन्यायाधीशलाई बैठकमा सहभागी गराइँदैन ।

यसै कारण बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे तथा उपसभामुख रुवी कुमारीलाई मात्र आमन्त्रण गरिएको छ ।

संवैधानिक पदमा नियुक्तिका लागि परिषदले सिफारिस गर्ने र संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट नियुक्ति हुने कानुनी व्यवस्था रहेको छ । अध्यादेशअनुसार बैठकमा उपस्थित सदस्यहरूको कम्तीमा ५० प्रतिशत अर्थात् तीन जनाको समर्थनमा प्रधानमन्त्रीले अघि सारेको प्रस्ताव पारित हुने व्यवस्था छ ।

नेपालको संविधानको धारा १२९(३) अनुसार सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा तीन वर्ष काम गरेको व्यक्ति प्रधानन्यायाधीश पदका लागि योग्य मानिने व्यवस्था छ । दुई अपवादबाहेक सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश नै प्रधानन्यायाधीशमा सिफारिस र नियुक्त हुने परम्परा रहँदै आएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया