खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा विद्युत्को तारबाट करेन्ट लागेर एक जनाको ज्यान गएको छ। हावाहुरीका कारण चुँडिएर भुईँमा झरेको तार छुँदा ४३ वर्षीय आनन्द राईको घटनास्थलमै मृत्यु भएको हो।
वडाध्यक्ष बबेन्द्र राईका अनुसार मृतक आनन्द राई वैशाख २२ गते मल बोक्न जाने क्रममा भुईँमा झरेको तारको सम्पर्कमा पुगेका थिए। नेपाल विद्युत प्राधिकरणका प्राविधिकहरूको सल्लाहमा बेलाबेला ट्रान्समिटरको फ्युज फेर्ने काम समेत गर्दै आएका राईले झरेको तार चेक गर्न खोज्दा करेन्ट लागेको बताइएको छ।
हावाहुरीले तार चुँडाएर भुईँमा झारेको प्रारम्भिक अनुमान गरिएको छ। मृतक राईका तीन छोरा र एक छोरी छन्। मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।