.

इरान वार्ता निष्कर्षविहीन, ट्रम्पले सैन्य कारबाहीबारे गरे छलफल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी वार्तामा अपेक्षित प्रगति नभएपछि सम्भावित सैन्य कारबाहीबारे आफ्ना राष्ट्रिय सुरक्षा टोलीसँग छलफल गरेका छन्। ।

अमेरिकी अनलाइन एक्सियसका अनुसार ट्रम्पले वरिष्ठ सुरक्षा अधिकारीहरूसँग इरानसँगको वार्ता असफल भए कसरी अघि बढ्ने भन्ने विषयमा परामर्श गरेका हुन्। छलफलका क्रममा इरानमाथि सैन्य कारबाहीको विकल्पसमेत उठाइएको बताइएको छ।

ट्रम्पले पछिल्ला दिनमा कूटनीतिक प्रयास सफल नभए इरानका पूर्वाधारमा बमबारी गर्न सकिने चेतावनी सार्वजनिक रूपमा दिँदै आएका छन्। ।

    अमेरिकाले युद्ध अन्त्य र इरानको आणविक कार्यक्रमसम्बन्धी वार्ताका लागि १४ बुँदे समझदारी प्रस्ताव पठाएको थियो। इरानले त्यसमा १० दिनपछि जवाफ पठाए पनि ट्रम्पले त्यसलाई अस्वीकार गरेका छन्। इरानको प्रस्तावप्रति असन्तुष्टि जनाउँदै ट्रम्पले राष्ट्रिय सुरक्षा टोलीसँग थप रणनीतिबारे छलफल गरेका हुन्। ।

प्रस्तावअनुसार एक महिनाको अवधिमा इरानले हर्मुज क्षेत्रमा जहाज आवतजावतमा लगाएको प्रतिबन्ध हटाउने र अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दी पनि क्रमशः अन्त्य गरिने उल्लेख छ।

वार्ताको सबैभन्दा जटिल विषय भने आणविक कार्यक्रम बनेको छ। गत महिना इस्लामाबादमा भएको छलफलमा अमेरिकाले इरानलाई २० वर्षसम्म युरेनियम प्रशोधन पूर्ण रूपमा रोक्नुपर्ने अडान राखेको बताइएको छ।

इरानले भने पाँच वर्षसम्म मात्र प्रशोधन रोक्न सकिने प्रस्ताव अघि सारेको थियो। अहिले दुवै पक्षबीच कम्तीमा १२ वर्ष प्रशोधन रोक्ने समझदारीको सम्भावना रहेको जनाइएको छ। साथै, उक्त अवधिमा इरानले सम्झौता उल्लंघन गरे समयसीमा पुनः सुरु हुने व्यवस्था प्रस्ताव गरिएको छ।

अमेरिकाले संयुक्त राष्ट्रसंघका निरीक्षकलाई आकस्मिक निरीक्षणको अनुमति दिनुका साथै विस्तारित अनुगमन प्रणाली लागू गर्न पनि इरानसमक्ष शर्त राखेको छ।

यसको बदलामा अमेरिकाले इरानमाथिका प्रतिबन्ध क्रमशः हटाउने र विश्वभर रोक्का गरिएका अर्बाैं डलर बराबरका इरानी सम्पत्ति फुकुवा गर्ने प्रतिबद्धता जनाएको छ।

तर इरानले भने सबै अमेरिकी प्रतिबन्ध हटाउनुपर्ने, युद्ध पूर्ण रूपमा अन्त्य हुनुपर्ने तथा हर्मुज क्षेत्रमा इरानी व्यवस्थापन सुनिश्चित गरिनुपर्ने माग राखेको छ। इरानले प्रारम्भिक हस्ताक्षरसँगै नौसैनिक नाकाबन्दी हटाउन र रोक्का सम्पत्ति तत्काल फुकुवा गर्नुपर्ने अडान राखेपछि ट्रम्प प्रशासनले त्यसलाई अस्वीकार गरेको बताइएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया