मोरङका अलग–अलग स्थानबाट दुई दिनको अवधिमा ब्राउन सुगर (खैरो हेरोइन) सहित आठ जना पक्राउ परेका छन् । प्रहरीले रंगेली र कानेपोखरीबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । सोमबार रंगेली नगरपालिका–४ चोप्राहबाट इलाका प्रहरी कार्यालय रंगेली र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त टोलीले चार जनालाई पक्राउ गरेको हो ।
अपरान्ह भारतबाट मोटरसाइकलमा नेपाल प्रवेश गर्दै गरेका बेलबारी नगरपालिका–६ का २१ वर्षीय समीर राई र बेलबारी–४ का ३४ वर्षीय शक्ति राईलाई प्रहरीले रोकेर जाँच गरेको थियो । जाँचका क्रममा शक्तिले शरीरमा लुकाएर ल्याएको २० ग्राम ९ सय मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, सोमबार साँझ भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका रंगेली–७ का २५ वर्षीय कार्तिककुमार मण्डल र पथरीशनिश्चरे–६ का २९ वर्षीय मुकेश महतोलाई पनि प्रहरीले पक्राउ गरेको छ । मण्डलको साथबाट ३ ग्राम र महतोको साथबाट ७ ग्राम ५९० मिलिग्राम ब्राउन सुगर बरामद भएको जनाइएको छ । प्रहरीका अनुसार पक्राउ परेका चारै जनाविरुद्ध लागुऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा चलाउने प्रक्रिया अघि बढाइएको छ । बरामद गरिएको लागुऔषध र मोटरसाइकल प्रहरीले नियन्त्रणमा राखेको छ ।
यसैबीच, कानेपोखरी गाउँपालिका–६ शिवशक्ति चोकबाट पनि आइतबार राति चार जना पक्राउ परेका छन् । प्रहरी चौकी रमाइलोबाट खटिएको टोलीले स्थानीय २० वर्षीय प्रज्वल राई, १८ वर्षीय अन्जन जिमी, २६ वर्षीय लोकेश घले र १८ वर्षीय राज विकलाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट ३ ग्राम ८५० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि इलाका प्रहरी कार्यालय पथरीले अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ ।
इस्तै
सुनसरीको धरान उपमहानगरपालिका–१३ बाट प्रहरीले ४ सय ४० किलोग्राम गाँजा सहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सोमबार राति नियमित चेकजाँचका क्रममा को १ च ७३५९ नम्बरको एम्बुलेन्स जाँच गर्दा प्लास्टिकको बोरामा प्याक गरी राखिएको अवस्थामा ठूलो परिमाणमा गाँजा बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार उक्त एम्बुलेन्स बुढासुब्बा डाईग्नोष्टिक सेन्टर प्रा।लि। द्वारा सञ्चालित रहेको खुलेको छ। गाँजा बरामद भएपछि चालक तथा घटनामा संलग्न व्यक्तिहरू फरार रहेकाले खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।