वैशाख लागेयता देशभर दिनहुँजसो वर्षा भइरहेको छ । पछिल्लो २४ घन्टामा केही स्थानमा १०० मिलिमिटरभन्दा बढी वर्षा मापन हुँदा अधिकांश क्षेत्रमा मध्यम वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हालसम्म प्रि–मनसुन अवधिमा २१२.४० मिलिमिटर वर्षा भइसकेको छ, जुन औसत वर्षाको ९२.८ प्रतिशत हो । विभागले फागुन १७ देखि जेठ १७ सम्मको समयलाई प्रि–मनसुन र जेठ १८ देखि असोज १४ सम्मलाई मनसुन अवधि मान्ने गरेको छ ।
मौसमविद् विनोद पोखरेलले पछिल्लो समय पश्चिमी वायुको सक्रियता बढ्दै गएको बताएका छन् । उनका अनुसार पछिल्लो २४ घन्टामा देशका अधिकांश मौसमी केन्द्रमा वर्षा मापन भएको छ । सबैभन्दा धेरै म्याग्दीको तातोपानी क्षेत्रमा १०४.२ मिलिमिटर वर्षा भएको छ ।
यस्तै, कास्कीको लुम्लेमा ७० मिलिमिटर, लामापाटनमा ६४ मिलिमिटर, पोखरा विमानस्थल क्षेत्रमा ६०.२ मिलिमिटर तथा नवलपरासीको दुम्कौलीमा ६२.८ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ ।
पोखरेलले पश्चिमी वायुको प्रभाव तत्काल कमजोर हुने सम्भावना नरहेको बताए । उनका अनुसार जेठको मध्यसम्म देशका विभिन्न क्षेत्रमा दैनिकजसो वर्षा हुने सम्भावना देखिएको छ, यद्यपि सबै स्थानमा निरन्तर पानी नपर्न सक्ने उनले उल्लेख गरेका छन् ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम छ । साथै, मध्य र पूर्वी भू–भागको उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय रेखाको पनि आंशिक प्रभाव रहेको छ ।
महाशाखाले मंगलबार बिहान कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा अन्य पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायतका पहाडी तथा हिमाली क्षेत्रमा बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।