अमेरिका र इरानबीच स्वीजरल्यान्डमा उच्चस्तरीय शान्ति वार्ता शुरु हुन लाग्दा मध्यपूर्वको रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलमार्गको अवस्थाबारे दुवै देशबीच तीव्र विवाद देखिएको छ ।
इरानले इजरायली आक्रमणको विरोधमा जलमार्ग बन्द गरिएको दाबी गरे पनि अमेरिकाले त्यसलाई अस्वीकार गर्दै व्यापारिक जहाजहरू निरन्तर आवतजावत गरिरहेको जनाएको छ ।
रोयटर्सका अनुसार आजदेखि स्वीजरल्यान्डमा अमेरिका इरान उच्चस्तरीय प्रतिनिधिमण्डलबीच वार्ता शुरु हुँदैछ । इरानी टोलीको नेतृत्व विदेशमन्त्री अब्बास अराघची र प्रमुख वार्ताकार मोहम्मद बाघेर कालिबाफले गरेका छन् भने अमेरिकी टोलिको नेतृत्व उपराष्ट्रपति जे.डी. भान्ससहित अन्य विशेष दूतहरू सहभागी छन् । शान्ति वार्तामा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र पाकिस्तानी सेनाप्रमुख असीम मुनी पनि पुग्नुभएको छ । स्वीजरल्यान्डमा हुन लागेको वार्तालाई अन्तर्राष्ट्रिय समुदायले निकै चासोका साथ हेरेका छन् ।
आजको वार्ताको मुख्य एजेन्डा परमाणु कार्यक्रम, लेबनानमा जारी तनाव र अस्थायी युद्धविराम कार्यान्वयन रहेको छ ।
अमेरिका–इरान वार्ताबाट मध्यपूर्वमा दीर्घकालीन स्थायित्व र ऊर्जा आपूर्ति सुरक्षित हुने अपेक्षा गरिएको छ, तर हर्मुज जलमार्गको विवादले शान्ति वार्ता चुनौतीपूर्ण बन्दै गएको छ ।