.

कोशी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना, पश्चिम तराईमा तातो लहरको जोखिम

मनसुनी प्रणालीको प्रभावका कारण कोशी प्रदेशका पहाडी तथा तराईका केही ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिम तराईका केही क्षेत्रमा तातो लहरको जोखिम कायमै छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक÷दुई ठाउँमा भने ठूलो वर्षा हुन सक्ने पूर्वानुमान छ । रातिको समयमा पनि कोशी प्रदेशका पहाडी तथा तराईका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

वर्षासँगै नदी, खोलानालामा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो तथा तराई क्षेत्रमा डुबानको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । मनसुन पूर्वी नेपालमा सक्रिय भए पनि पश्चिम तथा मध्य क्षेत्रका केही भागमा गर्मीको प्रभाव कायमै छ । महाशाखाका अनुसार यस वर्षको मनसुन जुन १३ तारिखमा प्रवेश गर्नुपर्ने औसत मितिभन्दा ६ दिन ढिला गरी अस्ति जुन १९ तारिखमा पूर्वी नेपालबाट भित्रिएको हो । प्रारम्भिक चरणमा मनसुन कमजोर रहेकाले देशभर फैलिन अझै केही समय लाग्ने अनुमान गरिएको छ ।  


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया