.

मोरङको रंगेलीबाट ३० हजार ५ सय क्याप्सुल लागुऔषधसहित भारतीय नागरिक पक्राउ

मोरङको रंगेलीबाट ठूलो परिमाणको लागुऔषधसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारतको बिहारस्थित अररिया जिल्लाको सिक्टी थाना आँपगाछी पञ्चायत–१४ घर भएका २५ वर्षीय अभिषेककुमार मण्डल पक्राउ परेका हुन् ।

बोरामा पोको पारी भारतीय नम्बर प्लेटको मोटरसाइकलमा ठूलो परिमाणको लागुऔषध लिएर नेपाल प्रवेश गरेका उनलाई इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर अशोककुमार झा नेतृत्वको टोलीले शनिबार राति ८ः३० बजेतिर पक्राउ गरेको हो । बीआर ३८ एएच ८७९८ नम्बरको मोटरसाइकलमा सवार रहेका मण्डललाई प्रहरीले रंगेली नगरपालिका–५ भेडुवाथानमा रोकेर चेकजाँच गरेको थियो ।

उनका अनुसार बोराबाट ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल नामक लागुऔषध ३ हजार ५० पत्ता फेला परेको थियो । जम्मा ३० हजार ५ सय क्याप्सुल ट्रामाडोल हाइड्रोक्लोराइड नामक लागुऔषध बरामद भएको डीएसपी मिश्रले बताए ।

उनका अनुसार बरामद भएको लागुऔषध र नियन्त्रणमा लिइएको मोटरसाइकलसहित मण्डललाई इलाका प्रहरी कार्यालय रंगेलीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

प्रारम्भिक अनुसन्धानबाट मण्डल लामो समयदेखि भारतीय भूमिबाट नेपालमा लागुऔषध ‘सप्लाई’ गर्ने धन्दामा संलग्न रहेको पत्ता लागेको छ । अहिले भने भारतबाट नेपाली ‘सप्लायर्स’लाई लागुऔषध पुर्याउन आउँदै गर्दा उनी पक्राउ परेका हुन् ।विस्तृत अनुसन्धानबाट मात्रै सबै कुरा पत्ता लाग्ने प्रहरीको भनाइ छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया