अविरल वर्षासँगै आएको बाढी र पहिरोले ओखलढुंगा र संखुवासभामा व्यापक क्षति पुर्याएको छ । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकामा बाढीले सात परिवारका गोठ तथा एउटा पक्की पुल बगाएको छ । पहिरोले पशुचौपायासमेत बगाएको छ ।
संखुवासभामा पहिरोका कारण तीन परिवार विस्थापित भएका छन् । ओखलढुंगा शनिबार साँझदेखि परेको भीषण वर्षापछि चिशंखुगढी गाउँपालिका–५ मा रहेको खानीखोलाको पक्की पुल बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पुल बगेपछि गाउँपालिका केन्द्रसँगको सडक सम्पर्क विच्छेद भएको छ । वडा नम्बर १ र २ को सिमानामा पर्ने बांगेखोलामा आएको बाढीले सात परिवारका गोठ बगाउँदा पशुचौपायामा ठूलो क्षति पुगेको छ । पहिरोले टीका भुजेलको गोठसँगै एक भैँसी, मननारायण श्रेष्ठको गोठसँगै दुई गोरु, मनबहादुर सार्कीको गोठसँगै तीन गोरु बगाएको छ ।
वडा नम्बर ५ छहरेका सुरेश नेपालीको गोठ बगाउँदा एक भैँसी हराएको र एउटा पाडो मृत फेला परेको प्रहरीले जनाएको छ । बाढीले एक सय रोपनीभन्दा बढी मकै खेतीसमेत बगाएको स्थानीयले बताएका छन् ।
हराएका पशुचौपायाको खोजी तथा क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
संखुवासभाको सभापोखरी गाउँपालिका–१ धुपु र खाँदबारी नगरपालिका–६ खानीडाँडामा पहिरोका कारण तीन घर विस्थापित भएका छन् । सभापोखरी–१ का धनबहादुर विश्वकर्मा, शान्तिराम पोखरेल तथा खाँदबारी–६ का यारबहादुर तामाङको परिवारलाई स्थानीय निकाय र प्रहरीको समन्वयमा सुरक्षित स्थानमा सारिएको छ ।
पहिरोले धुपुका राजन राई, कर्ण राई र अम्बर राईको धान रोपाइँको तयारीमा रहेको खेतसमेत पुरिदिएको छ । निरन्तर वर्षा भइरहेकाले थप जोखिम हुन सक्ने भन्दै प्रहरीले स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ ।