.

नेपालमा लागुऔषध र विपद् न्यूनीकरणका लागि सामूहिक प्रयास आवश्यक रहेको मुख्यमन्त्री कार्कीको भनाई

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालमा लागुऔषध दुव्र्यसन र मौसमीजन्य विपद्का घटनाहरू वर्षेनि बढ्दै गएको भन्दै यसको न्यूनीकरणका लागि सामूहिक प्रयास अपरिहार्य भएको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाको आयोजनामा बिर्तामोडमा सुरु गरिएको “लागुऔषध विरुद्ध झापा अभियान” को शुभारम्भ गर्दै मुख्यमन्त्री कार्कीले यी दुवै समस्याको ग्राफ निरन्तर बढिरहेको उल्लेख गर्दै रोकथामका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए ।

उनले लागुऔषध दुव्र्यसन घर–परिवारभित्रै प्रवेश गरेको हुन सक्ने भएकाले हरेक परिवारले आफ्ना बालबालिकाको भविष्य र सुरक्षाबारे गम्भीर भएर ध्यान दिनुपर्ने सुझाव दिए । साथै नेपाल–भारत खुला सीमाका कारण चुनौती बढेको उल्लेख गर्दै पहिले सीमावर्ती क्षेत्रमा देखिएको दुव्र्यसनको समस्या अहिले तराई हुँदै पहाड र हिमाली क्षेत्रमा समेत फैलिँदै गएको बताए ।

मुख्यमन्त्री कार्कीले विपद् पनि अर्को गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्दै मानवसिर्जित विपद् रोकथाम र प्राकृतिक विपद् व्यवस्थापन दुवैमा सामूहिक भूमिका आवश्यक रहेको बताए । आगामी आर्थिक वर्षको बजेटमा मेचीनगरको धाइजन र विराटनगरको रानीस्थित कोरोना होल्डिङ सेन्टरलाई लागुऔषध पुनःस्थापना केन्द्रका रूपमा रूपान्तरण गर्ने प्रस्ताव रहेको जानकारी दिँदै उनले यसबारे सरोकारवाला निकायहरूसँग छलफल भइसकेको बताए ।

उनले अभिभावकहरूलाई आफ्ना बालबालिकासँग नजिक भएर व्यवहार गर्न, उनीहरूको दैनिकी नियाल्न र “म को हुँ” भन्ने आत्मबोध गराउनुपर्नेमा जोड दिए । साथै विद्यालय तथा सम्बन्धित संस्थाहरू (जस्तै प्याब्सन, एन–प्याब्सन) ले पनि विद्यार्थीहरूको निगरानीमा सक्रिय भूमिका खेल्नुपर्ने बताए ।

यसअघि सुरु गरिएको “म अघि बढ्छु” कार्यक्रमलाई आगामी आर्थिक वर्षदेखि पुनः सञ्चालन गर्ने तयारी रहेको जानकारी दिँदै उनले यो कार्यक्रम २ हजारभन्दा बढी विद्यालयमार्फत लाखौं विद्यार्थीमा पुग्ने र उनीहरूलाई कुलतबाट जोगाउने लक्ष्य रहेको बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया