मोरङ जिल्लाभित्र कुखुरामा लाग्ने घातक बर्डफ्लू संक्रमण तीव्र गतिमा फैलिरहेको छ । केही दिनयता एकपछि अर्को स्थानमा संक्रमण देखिएको छ ।
विराटनगरमा पनि संक्रमण पुष्टि भएको छ । हालसमम जिल्लाका पाँचवटा पोल्ट्री फार्म प्रभावित भएका छन् । फैलदो क्रममा रहेको बर्डफ्लू नियन्त्रणका लागि सरकारी निकाय सक्रिय भएका छन् । कुखुरा पालक किसानहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङका प्रमुख अजयकुमार साहका अनुसार आइतबार विराटनगर महानगरपालिका–४ स्थित दाहाल कृषि फार्ममा बर्डफ्लू संक्रमण पुष्टि भएको हो । योसँगै मोरङमा पुष्टि भएका संक्रमित फर्मको संख्या पाँच पुगेको छ ।
यसअघि सुन्दरहरैँचा नगरपालिका–४ को हलेसी महादेव कृषि फार्म, उर्लाबारी नगरपालिका–८ को अठियावारी कृषि फार्म, कटहरी गाउँपालिका–२ मा रहेको ई टु जेड पोल्ट्री फार्म र कटहरी– ६ को कामख्या पोल्ट्री फार्ममा संक्रमण देखिइसकेको साहले बताए ।
संक्रमण पुष्टि भएसँगै प्रभावित क्षेत्रहरूमा व्यापक नियन्त्रण अभियान सञ्चालन गरिएको छ । प्रमुख साहका अनुसार संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रका सबै कुखुरा तथा अन्य पन्छीजन्य वस्तुहरू नष्ट गर्ने काम भइरहेको छ । ‘संक्रमित फार्मका कुखुरा, अण्डा, दाना, ओछ्यान र सम्पूर्ण सामग्रीसमेत नष्ट गर्ने प्रक्रिया अघि बढाइएको छ,’ उनले भने ।
सरकारी टोलीले प्रभावित क्षेत्रमा मरेका पन्छी र तिनका मलमूत्रलाई सुरक्षित तरिकाले व्यवस्थापन गर्न विशेष सावधानी अपनाइरहेको छ । ती वस्तुहरूलाई खाल्डो खनेर गाड्ने र त्यसपछि औषधीय घोल प्रयोग गरेर निसंक्रमण गर्ने काम भइरहेको छ । यसरी गरिएको डिसइन्फेक्सनले संक्रमण अन्य क्षेत्रमा फैलिनबाट रोक्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
विशेषगरी विराटनगरस्थित दाहाल कृषि फार्मको हकमा विस्तृत प्राविधिक प्रतिवेदन तयार गर्ने काम अन्तिम चरणमा पुगेको छ । आवश्यक प्रक्रिया पूरा भएपछि उक्त फर्मका सम्पूर्ण कुखुरा नष्ट गर्ने तयारी भइरहेको जनाइएको छ । अन्य चार स्थानमा भने संक्रमित कुखुरा नष्ट गर्ने कार्य सम्पन्न भइसकेको छ ।
बर्डफ्लू संक्रमण देखिन थालेपछि जिल्लाभरका कुखुरा पालक किसानहरूमा त्रास बढेको छ । यस रोगले छोटो समयमा ठूलो क्षति पुर्याउने भएकाले सरकारी निकायहरूले विशेष निगरानी बढाएका छन् । पशु सेवा कार्यालयले किसानहरूलाई कुखुरामा असामान्य लक्षण देखिएमा तुरुन्त जानकारी गराउन आग्रह गरेको छ ।
विशेषज्ञहरूका अनुसार बर्डफ्लू अत्यन्तै संक्रामक रोग भएकाले समयमै नियन्त्रण नगरेमा ठूलो आर्थिक क्षति निम्तिन सक्छ । त्यसैले पोल्ट्री व्यवसायीहरूलाई जैविक सुरक्षा ९बायोसिक्योरिटी०का मापदण्ड कडाइका साथ पालना गर्न सुझाइएको छ ।
मोरङमा संक्रमण फैलिने क्रम रोक्नका लागि सम्बन्धित निकायहरूले निगरानी, परीक्षण र सचेतना अभियानलाई तीव्र बनाएका छन् । अहिले संक्रमण नियन्त्रणको प्रयास जारी रहे पनि जोखिम पूर्ण रूपमा टरेको छैन । सतर्कता नै सबैभन्दा प्रभावकारी उपाय भएको अधिकारीहरू बताउँछन् ।