चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा चालु आर्थिक वर्षको आठ महिनामा १७ वटा गैंडाको मृत्यु भएको छ । तीमध्ये एउटा गैंडा करेन्ट लागेर मरेको पुष्टि भएको छ भने बाँकी सबै प्राकृतिक कारणले मरेका हुन् ।निकुञ्ज प्रशासनका अनुसार यस अवधिमा गैंडासहित कुल ५७ वटा वन्यजन्तुको मृत्यु भएको छ । साउनयता निकुञ्ज र आसपासका क्षेत्रमा विभिन्न कारणले वन्यजन्तु मर्ने क्रम देखिएको हो ।
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार यस वर्ष ४ वटा बाघ, ३ वटा हात्ती र १८ वटा चित्तल मरेका छन् । त्यस्तै, चितुवा, जरायो, मगर गोही र घडियाल गोही २–२ वटा, अजिङ्गर र सुनगोहोरो १–१ वटा तथा अन्य ४ वटा वन्यजन्तुको पनि मृत्यु भएको छ ।
वन्यजन्तुहरू प्रायः दलदलमा फस्ने, आपसमा जुध्ने, दुर्घटनामा पर्ने तथा बाघको आक्रमणमा पर्ने जस्ता कारणले मर्ने गरेको जनाइएको छ । अधिकांश मृत्यु प्राकृतिक कारणसँगै जोडिएको निकुञ्जको भनाइ छ ।
निकुञ्ज प्रशासनले भने पछिल्लो समय समुदायस्तरमा बढेको संरक्षण चेतनाका कारण चोरी सिकारीका घटना भने कम हुँदै गएको दाबी गरेको छ । स्थानीय सहभागिता र सचेतनाले वन्यजन्तु संरक्षणमा सकारात्मक प्रभाव परेको जनाइएको छ ।
गत आर्थिक वर्षको यो अवधिमा भने ८१ वटा वन्यजन्तुको मृत्यु भएको थियो । यस वर्ष संख्या घटे पनि गैंडाको मृत्यु दर भने अझै चिन्ताजनक रहेको देखिन्छ ।