.

ठेकेदारको सवारीसाधन नगरपालिकाको नियन्त्रणमा

खोटाङको हलेसीतुवाचुङ नगरपालिकाले निर्माणाधीन आधारभूत अस्पताल भवनको काम अलपत्र पार्ने ठेकेदारको सवारीसाधन नियन्त्रणमा लिएको छ ।नगरपालिका–७ महादेवस्थानस्थित अस्पताल भवन निर्माणमा लामो समयदेखि ढिलासुस्ती भएपछि नगरपालिका कडा रुपमा प्रस्तुत भएको हो । नगरपालिकाका अनुसार निर्माण कम्पनी नमुना–रहिमालयन जेभीका ठेकेदार रमेश बस्नेतको बागमती प्रदेश १६ च ६८०२ नम्बरको गाडी आइतबारदेखि नियन्त्रणमा लिइएको छ ।

आवश्यक निर्माण सामग्री र जनशक्ति परिचालन गरेर काम सुरु नगरेसम्म गाडी, चाबी र सवारी दर्ता प्रमाणपत्र नगरपालिकाको नियन्त्रणमै रहने जनाइएको छ । १५ शय्याको आधारभूत अस्पताल भवन २०७८ साउन ८ गते सम्झौता गरी २०८० साउन ८ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

तर, सम्झौता अवधि सकिएको दुई वर्ष बितिसक्दा पनि भवनको काम जगभन्दा माथि उठ्न सकेको छैन । पहिलो चरणकै काम अपूरो रहेको र निर्माणमा निरन्तरता नदेखिएपछि नगरपालिकाले कडा निर्णय लिनुपरेको मेयर विमला राईले बताइन् ।

नगरपालिकाले सवारीसाधन नियन्त्रणमा लिएपछि ठेकेदार अस्पताल निर्माणको काम अघि बढाउन तयार भएका छन् । 

स्थानीय सात जना दाताबाट करिब नौ रोपनी जग्गा निःशुल्क जुटाइए पनि नक्सा र वास्तविक भू–अवस्थाबीच मिलान नहुँदा विवाद उत्पन्न भएको नगरपालिकाले जनाएको छ । अहिले भने ढिलाइ अन्त्य गर्न कडाइका साथ काम अघि बढाउने तयारी गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया