स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा हालसम्म हान्टाभाइरसको कुनै पनि सङ्क्रमण पुष्टि नभएको स्पष्ट पारेको छ। पछिल्लो समय यस भाइरसका बारेमा भइरहेका विभिन्न चर्चा र आशङ्काका बीच मन्त्रालयले एक आधिकारिक सूचना जारी गर्दै नेपालमा यसको तत्काल जोखिम अत्यन्त न्यून रहेको जनाएको हो।
मन्त्रालयका अनुसार हाल चर्चामा रहेको हान्टाभाइरस समूहको ुएन्डिज भाइरसु सार्ने विशेष प्रजातिको मुसा नेपालमा सामान्यतया पाइँदैन, जसका कारण नेपालमा यो भाइरस महामारीका रूपमा फैलिने सम्भावना नरहेको स्वास्थ्य विज्ञहरूको ठम्याइ छ।
हान्टाभाइरस एक दुर्लभ भाइरल रोग हो जुन मुख्यतया सङ्क्रमित मुसाको पिसाब, दिसार्, याल वा तिनीहरूले दूषित बनाएको वातावरणसँग प्रत्यक्ष सम्पर्कमा आउँदा मानिसमा सर्ने गर्दछ। वैज्ञानिक अध्ययनहरूका अनुसार मानिसबाट मानिसमा यो भाइरस सर्नु अत्यन्त दुर्लभ मानिन्छ र सीमित अवस्थामा अत्यन्त नजिकको सम्पर्कबाट मात्र सङ्क्रमणको सम्भावना रहन्छ।
जोखिम न्यून भए तापनि जनस्वास्थ्यको संवेदनशीलतालाई ध्यान दिँदै मन्त्रालयले सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। घर तथा वरपरको वातावरण सफा राख्ने, मुसा प्रवेश गर्ने सम्भावित प्वालहरू बन्द गर्ने र मुसाको फोहोर सफा गर्दा अनिवार्य रूपमा मास्क तथा पन्जा प्रयोग गर्न मन्त्रालयले सुझाएको छ। मन्त्रालयले आधिकारिक सूचनाको आधारमा मात्र विश्वास गर्न र अनाहक भ्रममा नपर्न समेत सबैमा अपिल गरेको छ।