मोरङको बुढीगंगा गाउँपालिकाबाट चोरी भएको मोटरसाइकल प्रकरणले पछिल्लो समय पूर्वी तराईमा बढ्दो किशोर–किशोरीको आपराधिक गतिविधिको चिन्ताजनक तस्बिर उजागर गरेको छ । बुढीगंगा गाउँपालिका–६ सुकचौरका शेरबहादुर राईले घरअगाडि पार्किङ गरेर राखेको को ३५ प ६३६४ नम्बरको मोटरसाइकल वैशाख २६ गते बिहानका राति चोरी भएको थियो ।
प्रहरीले खोजतलासकै क्रममा चोरी भएको मोटरसाइकल सोही दिन बिहान करिब ११ः४० बजेतिर सुनसरीको इटहरी उपमहानगरपालिका–१६ खनारस्थित एउटा घरको कोठा अगाडि फेला परेको थियो । मोटरसाइकल बरामद भएपछि उक्त घरमा डेरा गरेर बस्दै आएकी सुनसरीको बर्जु गाउँपालिका–४ की १६ वर्षीया किशोरीलाई सुरुमा नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रमुख कवित कटवालले जानकारी दिए । किशोरीलाई नियन्त्रणमा लिएपछि मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा थप तीन जना किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको बुढीगंगा गाउँपालिका–३ का १५ वर्षीय, बुढीगंगा–६ का १५ वर्षीय र सुनसरीको बर्जु–४ का १६ वर्षीय किशोर रहेका छन् ।
प्रहरी स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानमा उनीहरूले योजनाबद्ध रूपमा खुला स्थान र घरअगाडि पार्किङ गरिएका मोटरसाइकललाई लक्षित गर्ने गरेको प्रहरीको भनाइ छ ।
पूर्वका मोरङ, सुनसरी र झापा जिल्लामा पछिल्लो समय किशोर समूहको संलग्नतामा हुने चोरी, लुटपाट र आपराधिक गतिविधि बढ्न थालेपछि सुरक्षा निकाय थप सतर्क बनेको छ । एसपी कटवालका अनुसार सामाजिक सञ्जालको गलत प्रभाव, कमजोर अभिभावकीय निगरानी, खराब संगत र कम उमेरमै सजिलै पैसा कमाउने मानसिकताले किशोर–किशोरीलाई आपराधिक गतिविधितर्फ तानिरहेकोबताउनु भयो । उनले बालबालिकाको गतिविधिप्रति अभिभावक सचेत हुनुपर्ने आवश्यकता औंल्याउँदै सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्न र अतिरिक्त सुरक्षा उपाय अपनाउन आग्रह गरे । पक्राउ परेका बालबालिकामाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।