शिक्षकहरूको सेवा तथा सुविधाको ग्यारेन्टी विधेयकमार्फत गर्नुपर्छ , गगन थापा
५ असोज २०८०, शुक्रवार
0
प्रतिक्रिया
विराटनगर , ५ असोज । आन्दोलनरत शिक्षकहरूले आज शुक्रबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले १७ बुँदे माग अघि सारेको छ । त्यो माग पूरा गर्न भन्दै शिक्षकहरूले ३ असोजदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् ।
आज शुक्रबार तेस्रो दिन पनि उनीहरुले प्रदर्शनलाई निरन्तरता दिएका छन् । माइतीघरमण्डलमा जम्मा भएर शिक्षकहरुले नयाँबानेश्वरसम्म प्रदर्शन गर्दै छन् ।
प्रदर्शनकै क्रममा शिक्षकहरुले सडकमै नाचगान समेत गरेका छन् ।उनीहरुको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको यातायात सेवा भने प्रभावित भएको छ । जसका कारण यात्रुलाई सास्ती भएको छ ।
आफूहरूका मागका बारेमा शिक्षक संगठनका प्रतिनिधिहरूले बिहीबार बिहान र साँझ तथा आज शुक्रबार बिहान दुई चरणमा मन्त्रीहरुसँग छलफल गरेका थिए ।
यसै बिच नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले विद्यालय शिक्षासम्बन्धी विधेयकमा धेरै त्रुटी रहेकाले संसदबाट सच्चाउने प्रतिवद्धता जनाएका छन् ।
काठमाडौंको श्री नंदी माध्यामिक विद्यालयमा कम्युटर ल्याबको उद्घाटन गर्दै थापाले विद्यालय शिक्षासम्बन्धी विधेयक सरकारको प्रस्तावमात्रै भएकाले यसमा रहेका धेरै त्रुटीहरूलाई संसदबाट सच्चाउने प्रतिवद्धता जनाएका हुन् ।
उनले संसदलाई विश्वास गरेर शिक्षकहरुले आफ्नो आन्दोलन स्थगीत गर्नुपर्ने र सरकारले पनि विधेयकमाथिको असन्तुष्टिलाई सच्चाउने प्रतिवद्धता गर्नुपर्ने जिकिर गरे।थापाले शिक्षकहरूको आत्मसम्मान, मर्यादालाई ध्यान दिनुपर्ने र शिक्षकलाई आवश्यकता अनुसारको सुविधाको ग्यारेन्टी विधेयकमार्फत गर्नुपर्नेमा जोड दिए ।
उनले अहिलेको विधेयक कम्तीमा पनि २० वर्षका लागि हुने भएकाले हतार नगरी संशोधनका आधारमा अन्तिम टुङ्गो लगाउनुपर्ने धारणा राखे। थापाले अहिलेको अवस्थामा देशभरका विद्यालयमा विद्यार्थीलाई सिकाइको अवस्था परिवर्तन गर्नुपर्ने जिकिर गरे।