.

प्रधानमन्त्रीको राजीनामा माग्दै माइतीघरमा अभियन्ता निकोलस भुसालद्धारा आमरण अनसन

अभियन्ता निकोलस भुसालले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै आमरण अनसन सुरु गरेका छन् ।

उनले मंगलबार राति १० बजेदेखि काठमाडौँको माइतीघर मण्डलामा अनसन थालेका हुन् । जेनजी आन्दोलनका अभियन्ता अजय सोडारीका अनुसार, वर्तमान सरकारले युवाहरूको भावना र जेनजी आन्दोलनको मर्मअनुसार काम गर्न नसकेको भन्दै भुसालले आमरण अनसनको बाटो रोजेका हुन् ।

भुसालले यसअघि पनि विभिन्न सामाजिक र राजनीतिक मुद्दाहरूमा माइतीघरमा प्रदर्शन गर्दै आएका थिए । जेनजी समूहको देशव्यापी आन्दोलन यतिबेला माइतीघरमा मिराज ढुंगानाको नेतृत्वमा ‘संयुक्त जेनजी आन्दोलन’ जारी छ । यो समूहले वर्तमान सरकार ‘औचित्यहीन’ भइसकेको दाबी गर्दै सर्वपक्षीय सरकार गठनको माग राखेको छ।

सोही आन्दोलनको एउटा पाटोका रूपमा भुसालले अनसन सुरु गरेका हुन् । मिराज ढुंगाना नेतृत्वको समूहले हिजोदेखि नै देशव्यापी आन्दोलनको घोषणा गरी माइतीघरमा केन्द्रित भइरहेको छ ।सुरक्षा व्यवस्था र धरपकड प्रशासनले माइतीघर क्षेत्रमा प्रदर्शनमा निषेध गरे पनि युवाहरूले निरन्तर नाराबाजी र प्रदर्शन गरिरहेका छन् ।

यसअघि सोही क्षेत्रमा प्रदर्शन गर्ने क्रममा प्रहरीले निकोलस भुसालसहितका दर्जनौँ युवाहरूलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले अनुमतिबिना गरिने यस्ता प्रदर्शनले सुरक्षा चुनौती बढाउने भन्दै आन्दोलनकारीलाई तितरबितर पार्ने प्रयास गरिरहेको छ ।

अनसन सुरु गरेसँगै भुसालको स्वास्थ्य अवस्था र सुरक्षालाई लिएर उनका समर्थकहरूले चासो व्यक्त गरेका छन् । जेनजी समूहले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा नआएसम्म आन्दोलन नरोकिने चेतावनी दिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया