.

संघीय सरकारले प्रदेश अधिकार मिचिरहेको मुख्यमन्त्री कार्कीको आरोप

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारले प्रदेशको अधिकार क्षेत्रमाथि निरन्तर हस्तक्षेप गरिरहेको आरोप लगाएका छन् ।


प्रदेशको आगामी बजेट निर्माणका लागि सांसदसँग सुझाव संकलन गर्न मंगलबार आयोजित कार्यक्रममा कार्कीले संविधानले प्रदेशलाई दिएको अधिकारसमेत केन्द्र सरकारले कमजोर बनाउने प्रयास गरेको गुनासो गरे ।


संघीय सरकारले केही दिनअघि नयाँ सवारी दर्ता नगर्न जारी गरेको परिपत्रप्रति आपत्ति जनाउँदै मुख्यमन्त्री कार्कीले यातायात व्यवस्थापन प्रदेशको क्षेत्राधिकारभित्र पर्ने विषय भएको बताए । ‘यातायात प्रदेशको क्षेत्राधिकारमा पर्छ, तर संघीय सरकारले सल्लाहबिनै नयाँ दर्ता रोक्यो,’ उनले भने, ‘यसले प्रदेशको आम्दानीमा प्रत्यक्ष असर पार्छ ।’


मुख्यमन्त्री कार्कीले संघीय सरकारका मन्त्रालय र निकायबाट आउने परिपत्रहरूले प्रदेश सरकारको कार्यसम्पादनमा बाधा पुगेको पनि उल्लेख गरेका छन् । मन्त्री तथा सचिवस्तरबाट आउने निर्णय र निर्देशनहरू प्रदेश कानुन तथा संविधानको भावना विपरीत रहेको उनको भनाइ थियो ।


प्रदेश सरकारका अधिकार क्रमशः खुम्च्याउने प्रवृत्ति देखिएको भन्दै कार्कीले “हाम्रा हातखुट्टा बाँधिँदैछन्” भने । संघीय सरकारबाट जारी हुने परिपत्र कर्मचारीले सहजै कार्यान्वयन गर्ने तर प्रदेश सरकारले बनाएको कानुन कार्यान्वयनमा भने अटेरी गर्ने प्रवृत्ति देखिएको भन्दै उनले प्रदेशका कर्मचारीप्रति पनि असन्तुष्टि जनाए ।


संघीय हस्तक्षेपका कारण प्रदेश सरकार प्रशासनिक र आर्थिक दुवै हिसाबले दबाबमा परेको मुख्यमन्त्रीको भनाइ छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया