.

मोरङको उर्लाबारीमा बालबालिकालाई बाँधेर यातना, दुई जना युवा पक्राउ

मोरङको उर्लाबारीमा मोबाइल चोरी गरेको आरोपमा दुई जना बालबालिकालाई मन्दिरको फलामे पिलरमा बाँधेर यातना दिएको आरोपमा दुई जना युवालाई प्रहरीले सोमबार राति पक्राउ गरेको छ ।

मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठका अनुसार सोमबार राति करिब ८ बजेतिर उर्लाबारी नगरपालिका–३ स्थित गुरु गोरक्षनाथ मन्दिरमा ७ वर्षीय रवि उराउ र ६ वर्षीया चाँदनी उराउलाई प्लास्टिकको डोरीले हातखुट्टा बाँधेर राखिएको अवस्थामा प्रहरीले उद्धार गरेको हो । दुवै बालबालिका उर्लाबारी–३ निवासी दुखीलाल उराउका छोरा र छोरी हुन् ।

मोबाइल चोरी गरेको आरोप लगाउँदै झापाको शिवसताक्षी नगरपालिका–३ का २० वर्षीय निशान कार्की र १८ वर्षीय सुमन बुढाथोकीले बालबालिकालाई मन्दिरको फलामे पिलरमा बाँधेर राखेको पाइएको श्रेष्ठले बताए । बाँधेर बालबालिकालाई यातना दिएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी सहायक निरीक्षक (असई) चन्द्रबहादुर भण्डारीको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले तत्काल डोरी खोलेर दुवै बालबालिकाको उद्धार गरी आफन्तको जिम्मा लगाएको जनाएको छ । प्रारम्भिक परीक्षणका क्रममा उनीहरूको खुट्टामा सामान्य निलडाम देखिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न आरोपित कार्की र बुढाथोकीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको छ । घटनासँग सम्बन्धित थप विषय बुझ्दै दुवै जनामाथि इन्स्पेक्टर नवीन वली नेतृत्वको टोलीले विस्तृत अनुसन्धान अघि बढाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया