हिजो मंगलबार देखि चितवन राष्ट्रिय निकुञ्जबाट शुभारम्भ गरिएको बाघ गणना एक साताभित्र बर्दियामा पनि सुरु हुँदैछ।
बाघको अध्ययन, अनुसन्धानसँगै यसको संख्यालगायत आहारा प्रजातिको घनत्व मापन गरी दिगो संरक्षणका लागि बाघ गणना सुरु गरिएको हा े। प्रत्येक ५ वर्षमा हुने बाघ गणना यस वर्ष पनि अटोमेटिक स्वचालित क्यामेरा ट्रयापिङ विधिबाट गरिने बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त वरिष्ठ संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले बताए।
बाँके–बर्दिया कम्प्लेक्समा १ सय दिनमा गणना कार्य सकिने गरी तयारी गरिएको छ। बर्दिया राष्ट्रिय निकुञ्ज तथा यसका मध्यवर्ती आसपासका क्षेत्र हुँदै बाँके राष्ट्रिय निकुञ्जलगायत त्यसका मध्यवर्ती क्षेत्र आसपासमा बाघ गणना टुंगिन्छ। बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा ३, बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा २ र दाङ क्षेत्रमा १ गरी ६ वटा ब्लकमा बाघ गणना गरिन्छ।
चिसो मौसम बढेसँगै गणना कार्यमा चुनौती थपिएको छ। अर्कोतिर क्यामेरा चोरी हुने, कर्मचारीलाई बन्यजन्तुबाट थ्रेटसँगै बाघ गणनाका लागि अनुमानित लागत रकम कमी भएका कारण समस्या थपिएको श्रेष्ठले बताए।
बाघ गणनाका लागि अनुमानित खर्च ३ करोड छ। सरकारले करिब १० लाख रुपैयाँ मात्र उपलब्ध गराएको छ। बाघ गणनामा नेपाली सेना, एनटीएनसी, चोरीसिकार नियन्त्रण युवा परिचालन अभियानका युवाहरूले सहयोग उपलब्ध गराउने अधिकृत श्रेष्ठले प्रस्ट्याए।
चितवन राष्ट्रिय निकुञ्जबाट सुरु भएको बाघ गणना, पर्सा, लालझाडी हुँदै पुसको दोस्रो साता बर्दिया र तेस्रो साता शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हुने राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका संरक्षण कार्यक्रम (एनटीएनसी) का संरक्षण अधिकृत अजित तुम्बाहाम्फेले बताए।
यस पटक बाघ मानव द्वन्द्वरत क्षेत्रमा पनि गणना गरिने भएकाले नयाँ ठाउँहरूमा पनि क्यामेरा जडान गर्ने उनले जनाए। पछिल्लो समय नेपालमा बाघको संख्या बढेको छ। बाघको बासस्थान तथा आहारा प्रजातिको संरक्षण, प्रशस्त पानी तथा घाँसे मैदानमा वृद्धि भएसँगै बाघ बढ्ने क्रम तीव्र छ।
‘नेपालमा सन् १९९९ मा बाघको संख्या ९८ देखि १२३, २००५÷०६ मा १०९ देखि १३०, २००८÷९ मा १२१, सन् २०१३÷१४ मा १ सय ९८, सन् २०१८ मा २३५ र सन् २०२२ मा चितवनमा १२८, बर्दिया १२५, बाँके २५, शुक्ला ३६, पर्सा ४१ गरी कुल ३५५ वटा पाटेबाघ छन्।’