विराटनगर, ६ साउन । सुनसरीको धरानस्थित चारकोसे जंगलमा विराटनगरका युवकको गोली हानी हत्या गरिएको विषयमा प्रहरीले सुक्ष्म अनुसन्धान सुरु गरेको छ । धनकुटाको मूलघाटबाट फर्कने क्रममा धरानस्थित चारकोसे जंगलमा शुक्रबार विराटनगर–५ बस्ने २८ वर्षीय रोहित चौधरीको युवाको एक समूहले गोली हानी हत्या गरेको थियो । उक्त घटनाको सुक्ष्म अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
चौधरीको साथमा भएको नगद लुटपाट गर्ने उद्देश्यसाथ गोली प्रहार भएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ । विभिन्न कोणबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभु ढबालले बताएका छन् ।
युवाको समूहले लुटपाट गर्न खोजेपछि घम्साघम्सी भएको र गोली प्रहार हुँदा सख्त घाइते भएका चौधरीको धारनस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा मृत्यु भएको थियो । उनीसँगै रहेकी युवती भने सकुशल छिन् । युवतीले साथमा रहेको नगद लुटपाट भएको जानकारी गराएको बताइएको छ । गोली प्रहार गरी चारकोसे जंगलतर्फ भागेको समूहको खोजी गर्न तत्कालै प्रहरीको विशेष टोली परिचालन भए पनि संलग्नको पहिचान हुन सकेको छैन ।
आज शनिबार सम्म कोही पनि पक्राउ परेका छैनन् । जंगलबाट पानमारातर्फ जाने बाटो नजिकै घटना भएको थियो । मृतक चौधरी विराटनगरस्थित नोबेल मेडिकल कलेजका प्राविधिक कर्मचारी हुन् ।