नेपाल–भारत खुला सीमामा सुरक्षा चुनौती, सीमापार अपराध, लागुऔषध ओसारपसार तथा स्थानीयले भोगिरहेका दैनिक समस्यालाई केन्द्रमा राख्दै सशस्त्र प्रहरी बल नेपालले मोरङमा सीमावासीसँग प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
सीमा सुरक्षालाई प्रभावकारी बनाउने, स्थानीय समुदायसँग विश्वासको सम्बन्ध मजबुत पार्ने तथा सीमासम्बन्धी समस्याको पहिचान गर्ने प्रयास स्वरुप दोहोरो संवादको आयोजना गरिएको हो । विराटनगर महानगरपालिका–१८ स्थित नेपाल कष्टम यार्ड भवनमा बिहीबार आयोजित ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय तथा सीमावर्ती क्षेत्रका बासिन्दाको लगायत कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मुख्यालय कंकालिनी मोरङका गणपति एवं एसपी गेहेन्द्रबहादुर भण्डारी, सीमा सुरक्षा गुल्म मुख्यालय रानीका गुल्मपति एवं डीएसपी तिलकबहादुर खड्का, बोर्डर आउट पोस्ट (बीओपी) जहदा–भुटाहाका प्रमुख एवं इन्स्पेक्टर सुमन सुवेदी तथा अस्थायी प्रहरी पोस्ट भेडियारीका असई ब्रह्मदेव यादवको उपस्थिति रहेको थियो ।
अन्तरक्रियामा नेपाल–भारत सीमाको समग्र सुरक्षा अवस्था, सीमा अपराध नियन्त्रण, लागुऔषधको ओसारपसार रोकथाम, सीमावासीले भोगिरहेका समस्या तथा गुनासा, दशगजा क्षेत्रको अतिक्रमण, भारतीय सीमा सुरक्षा बल (एसएसबी)को व्यवहार तथा सीमामा देखिने अन्य व्यावहारिक जटिलताका विषयमा खुला छलफल भएको एसपी भण्डारीले बताए । सीमामा हुने अवैध गतिविधिका बारेमा समयमै सूचना उपलब्ध गराउन र अपरिचित गतिविधिप्रति सतर्क रहन तथा अपराध नियन्त्रणमा सहकार्य गर्न सशस्त्रका अधिकारीहरुले स्थानीयलाई आग्रह गरेका छन् । विशेष गरी दशगजा क्षेत्रमा हुने अतिक्रमण, सीमापार आवतजावतका क्रममा देखिने व्यवहारगत समस्या, लागुऔषधको बढ्दो प्रभाव तथा सीमासम्बन्धी प्रशासनिक कठिनाइका बारेमा स्थानीयले आफ्ना धारणा प्रस्तुत गरेका थिए ।सशस्त्रले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै सीमावासीका गुनासा सम्बोधन, सीमा अपराध नियन्त्रण तथा नेपाल–भारत सीमामा सुरक्षित र व्यवस्थित वातावरण निर्माणमा थप प्रभावकारी भूमिका खेल्न पर्ने उनको भनाइ छ ।