.

असई थमन विक हत्या प्रकरणः पाँच वर्ष कैद सजाय पाएका पूर्वसांसद कोइरी पक्राउ

सशस्त्र प्रहरी बलका असई थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरबाट दोषी ठहर भई पाँच वर्ष कैद सजाय सुनाइएका नेकपा ९एमाले०का नेता तथा पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्।


महोत्तरी प्रहरीले बिहीबार साँझ गौशाला नगरपालिका–५ स्थित एमाले पार्टी कार्यालय अगाडिबाट कोइरीलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी पञ्चलाल गोलेका अनुसार उच्च अदालतको फैसलाअनुसार उनलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।


यसअघि महोत्तरी जिल्ला अदालतले कोइरीलाई उक्त मुद्दामा सफाइ दिएको थियो। तर, उच्च अदालत जनकपुरले बुधबार जिल्ला अदालतको फैसला उल्ट्याउँदै उनलाई दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय सुनाएको हो।


सोही मुद्दामा उच्च अदालतले मधेश प्रदेशका निलम्बित प्रदेशसभा सदस्य अभिराम शर्मा तथा सुरेन्द्र पाण्डे, धर्मेन्द्र राय, पवन कापर र रामशंकर मिश्रलाई पनि पाँच–पाँच वर्ष कैद सजाय सुनाएको छ। यस्तै, प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरलाई जिल्ला अदालतले सुनाएको जन्मकैदको सजाय उच्च अदालतले सदर गरेको छ।


लामो समयदेखि चर्चामा रहेको असई थमन विक हत्या प्रकरणमा उच्च अदालतको पछिल्लो फैसलासँगै दोषी ठहर भएका व्यक्तिविरुद्ध सजाय कार्यान्वयन प्रक्रिया अघि बढाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया