मोरङको ग्रामथान गाउँपालिकामा भाउजूको हत्या गरेको आरोपमा प्रहरीले देवरलाई पक्राउ गरेको छ।
सोमबार राति ग्रामथान गाउँपालिका–६ झोवावनी निवासी २१ वर्षीया सीमा राजवंशीको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा उनकै २१ वर्षीय देवर सौचन राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
मोरङ प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा सौचनले खुकुरी प्रहार गरी सीमाको हत्या गरेको खुलेको छ। हत्या गरेपछि उनले शव घरको आँगनबाट घिसार्दै शौचालय नजिक फालेको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सीमाको शव घाँटीमा गहिरो चोट लागेको अवस्थामा फेला परेको थियो। घटनापछि प्रहरीले तत्काल अनुसन्धान अघि बढाउँदै आरोपीलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार हत्या हुनुको वास्तविक कारण अझै खुल्न बाँकी रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनाका क्रममा देवर–भाउजूबीच भएको विवाद छुट्याउन गएका सौचनका ठूलोबुवा शिवलाल खवास पनि घाइते भएका छन्। उनको दाहिने कुममा खुकुरी लागेर गहिरो चोट लागेको छ। उपचाररत रहेका शिवलालको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।