विराटनगरमा आज शुक्रबार बिहान केही युवाले प्रदर्शन गर्ने प्रयास गरे पनि प्रहरीले तत्कालै स्थिति नियन्त्रणमा लिएपछि विराटनगरको अवस्था अहिले सामान्य बन्दै गएको छ।
प्रहरीको सक्रियतापछि प्रदर्शनकारीहरू त्यहाँबाट हटेका छन् भने बजार क्षेत्र शान्त रहेको छ। बिस्तारै पसल तथा व्यवसायहरू खुल्न थालेका छन् र सर्वसाधारण पनि दैनिक कामकाजमा फर्किन थालेका छन्। यातायात, व्यापार–व्यवसाय तथा जनजीवन क्रमशः नियमित बन्दै गएको देखिएको छ।
मोरङ प्रशासनले ड्रोनबाट बिराटनगरको आन्दोलनलाइ निगरानी गर्दै सुरक्षा व्यवस्था थप सुदृढ बनाइएको छ । जिल्ला प्रहरी प्रशासनले नागरिकलाई कुनै पनि अफवाहमा नलाग्न, संयम अपनाउन तथा शान्तिपूर्ण वातावरण कायम राख्न सहयोग गर्न आग्रह गरेको छ। साथै, आ–आफ्नो दैनिक कामकाजलाई नियमित रूपमा अघि बढाउन पनि सबैमा अनुरोध गरिएको छ।
हाल विराटनगरमा सुरक्षा व्यवस्था थप सुदृढ बनाइएको छ भने बजार क्षेत्रको अवस्था सामान्य हुँदै गएको प्रहरीले जनाएको छ।
यसैबिच
सिरहाको गोलबजारमा हिजो बिहीबार भएको गोलीकाण्डपछि गोलबजार र लहान क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ। ठाउँ–ठाउँमा नेपाली सेना र नेपाल प्रहरी परिचालन गरिएपछि अवस्था क्रमशः सामान्य बन्दै गएको प्रशासनले जनाएको छ।
गोली लागेर एक बालकको मृत्यु भएपछि थप अप्रिय घटना हुन नदिन गोलबजारको पूर्वी सीमा गागन खोलादेखि पश्चिमी सीमा चोहर्वासम्म सेना र प्रहरी परिचालन गरिएको हो। बजार क्षेत्रका सबै सहायक सडकमा सुरक्षा निकाय तैनाथ गरी प्रवेशमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालयले गोलबजार र लहान क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार सुरक्षा अवस्थालाई मध्यनजर गर्दै कफ्र्युलाई निरन्तरता दिइएको हो।