सुनसरीको देवानगञ्जमा भएको झडपपछि उत्पन्न तनावलाई कम गर्न र जिल्लामा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न आज विराटनगरमा बृहत् सद्भाव र्याली आयोजना गरिँदैछ। जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको सर्वपक्षीय बैठकले दिउँसो ३ बजे महेन्द्र चोकबाट र्याली निकाल्ने निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलका अनुसार र्याली महेन्द्र चोकबाट सुरु भई ट्राफिक चोक, पञ्चमुखी हनुमान मन्दिर हुँदै जिल्ला प्रशासन कार्यालय अगाडिको डाँफे चोकमा पुगेर समापन हुनेछ। र्यालीमा राजनीतिक दल, नागरिक समाज, विभिन्न धार्मिक समुदाय र आम नागरिकलाई सहभागी हुन आह्वान गरिएको छ।
यसैबीच, देवानगञ्ज घटनामा प्रहरीको गोली लागि गम्भीर घाइते भएका रविन्द्र मेहता र अमित कुमार यादवको अवस्था चिन्ताजनक रहेकाले उनीहरूलाई थप उपचारका लागि आजै नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी गरिएको छ। प्रशासनले घाइतेहरूको उपचारका लागि अस्पतालसँग आवश्यक समन्वय भइरहेको जनाएको छ।
प्रशासनले सामाजिक सञ्जालमा धार्मिक वा साम्प्रदायिक द्वेष फैलाउने खालका कुनै पनि सामग्री पोस्ट नगर्न कडा निर्देशन दिएको छ। बैठकमा सहभागी सम्पूर्ण राजनीतिक दल र सरोकारवालाहरूले जिल्लामा शान्ति सुरक्षा र सद्भाव कायम राख्न तथा गैरकानुनी क्रियाकलाप गर्नेलाई कारबाहीको दायरामा ल्याउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
जिल्ला प्रशासन र सुरक्षा निकायले वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै सबै पक्षलाई संयमता अपनाउन आह्वान गरेको छ । सामाजिक सञ्जाल वा अन्य माध्यमबाट फैलिन सक्ने गलत सूचना र अफवाहको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।
शान्ति सुरक्षा कायम राख्न र सामाजिक सद्भाव नबिगार्न प्रशासनले विशेष अनुरोध गर्दै स्थितिलाई सामान्य बनाउने प्रयास जारी राखेको छ ।