राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश कार्यालय विराटनगरले सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको गोलीकाण्डका बारेमा स्वविवेक उजुरी ग्रहण गरी अनुसन्धान सुरु गरेको छ ।
आयोगले स्थलगत रुपमा अनुसन्धान पनि सुरु गरेको छ । आयोगले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई घटनासम्बन्धी विस्तृत विवरण ७ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ । आयोगको विराटनगर कार्यालयका निमित्त कार्यालय प्रमुख दयाराम पाठकले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई पत्र पठाउँदै आयोगको केन्द्रीय कार्यालय हरिहरभवनको निर्देशनमा घटनाको अनुसन्धान अघि बढाइएको जानकारी गराएका छन् ।
साउन १० गते आइतबार राति देवानगन्ज–३ कप्तानगन्जमा दुई समुदायबीच भएको सामान्य विवाद उग्र बन्दा गोली चलेको, त्यसक्रममा दुई जनाको मृत्यु भएको तथा केही व्यक्ति घाइते भएको घटनालाई लिएर आयोगले स्वविवेक उजुरीका आधारमा अनुसन्धान थालेको हो । नेपालको संविधानको धारा २४९ तथा राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा ११ बमोजिम आयोगले प्रहरीसँग घटनासम्बन्धी विभिन्न विषयमा यथार्थ विवरण माग गरिएको निमित्त प्रमुख पाठकले बताए ।
आयोगले घटनाको सुरुआत कसरी भयो ? भन्दै घटनास्थलमा नेपाल प्रहरीबाट परिचालन गरिएका जनशक्तिको संख्या, नाम र सम्पर्क नम्बरसहितको विवरण माग गरेको छ । प्रहरीबाट आवश्यकताभन्दा बढी बल प्रयोग भए वा नभएको विषय पनि आयोगको अनुसन्धानको दायरामा छ । घटनामा गोली चलाउने पक्ष तथा मृतक र घाइतेको नामसहितको विवरण उपलब्ध गराउन आयोगले निर्देशन दिएको छ ।
यस्तै, आयोगले घटनामा मृत्यु भएकाहरूको पोस्टमार्टम प्रतिवेदन, लासजाँच प्रकृति मुचुल्का, घाइतेहरूको घाउ जाँच प्रतिवेदन लगायतका विभिन्न कागजातका प्रमाणित प्रतिलिपिसमेत उपलब्ध गराउन जिल्ला प्रहरी कार्यालय सुनसरीलाई निर्देशन दिएको छ । आयोगले पत्र प्राप्त भएको मितिले सात दिनभित्र सम्पूर्ण विवरण उपलब्ध गराई अनुसन्धान कार्यमा सहयोग गर्न आग्रह गरेको छ ।
निमित्त प्रमुख पाठकले आइतबारबाट स्थलगत अनुसन्धान सुरु गरिएको जानकारी दिए ।
यसैबिच
स्थानीय प्रशासनले सुनसरीका दुई वटा गाउँपालिकाका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले सोमबार बिहान १० बजेदेखि लागू हुने गरी देवानगन्ज गाउँपालिका र हरिनगर गाउँपालिकाका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरेका हुन्।
साउन १० गते सुनसरीको देवानगन्जस्थित कप्तानगन्जमा प्रहरीको गोली लागी दुई जनाको मृत्यु भएपछि सुनसरीका विभिन्न स्थानमा तनाव उत्पन्न भएको थियो। स्थानीय प्रशासनका अनुसार अहिले भने सो क्षेत्रको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ।