साउन महिनाको आज तेस्रो सोमबार । साउन महिना भगवान शिवको विशेष प्रिय महिना मानिने भएकाले बिहानैदेखि पशुपतिनाथलगायत देशभरका प्रमुख शिवालयमा दर्शनार्थीको ठूलो घुइँचो लागेको छ। विराटनगर ८ बाट हरेक वर्ष आयोजना हुँदै आएको नेपालकै सबैभन्दा ठूलो महाकाँवर यात्रा यस वर्ष साउन १८ गते सोमबार आयोजना हुने भएको छ ।
यात्राबारे जानकारी दिन आइतबार विराटनगर–८ स्थित बटकेश्वर महादेव मन्दिर परिसरमा आयोजक समितिले पत्रकार सम्मेलन आयोजना गरेको थियो ।
आयोजक समितिका संयोजक राघव सहनीका अनुसार २०७६ सालदेखि सुरु भएको महाकाँवर यात्राको यो आठौं संस्करण हो। पहिलो वर्ष २६ फिट लामो बाँसको काँवरबाट यात्रा सुरु गरिएको थियो भने यस वर्ष ४१ फिट लामो महाकाँवर निर्माण गरिएको छ।
उनका अनुसार विराटनगर आसपासका चार नदी–सिंघिया, केसलिया, बुढीगंगा र लोहन्द्राबाट जल संकलन गरी बटकेश्वर महादेव मन्दिरमा ल्याइनेछ। उक्त जललाई शुद्धीकरण गरेपछि सोमबार बिहान १ सय लिटर जल महाकाँवरमा राखी ३६ जनाले काँधमा बोकेर विराटनगर परिक्रमा गर्ने कार्यक्रम रहेको छ। यात्रा अन्त्यमा बरगाछी चोकपूर्वस्थित बासुकीनाथ मन्दिरमा जल अर्पण गरिनेछ।
आयोजकका अनुसार महाकाँवर यात्रामा ६ हजारभन्दा बढी श्रद्धालुको सहभागिता रहने अनुमान गरिएको छ। यात्रा सोमबार बिहान ९ बजेदेखि सुरु हुनेछ। जल अर्पणपछि मन्दिर परिसरमा महाप्रसाद वितरणको कार्यक्रम पनि राखिएको छ।
हरेक वर्ष बाजागाजासहित आयोजना हुँदै आएको महाकाँवर यात्रामा यस वर्ष देशको संवेदनशील अवस्थालाई मध्यनजर गर्दै कम आवाजको साउण्ड सिस्टम प्रयोग गरी प्रशासनलाई सहयोग गर्ने निर्णय गरिएको आयोजक समितिले जनाएको छ।