.

धरानमा घरको ताला फोडेर सुनचाँदी र नगद चोरी, तीन जना पक्राउ

सुनसरीको धरान–११ स्वास्तिका चोकस्थित एक घरको ताला फोडेर सुनचाँदीका गहना र नगद चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न अर्का एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार आइतबार बिहान करिब ३ देखि ४ बजेको बीचमा राजु साहको घरको माथिल्लो तलामा रहेको उनका भाइ पप्पु साहको कोठाको ताला फोडेर चोरी भएको थियो । पप्पु र उनको परिवार घरमा नभएको मौका छोपी चार जनाको समूहले चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।


घटनाको सूचना पाएलगत्तै प्रहरी निरीक्षक विनालाल साहको नेतृत्वमा प्रहरीले घटनास्थलको मुचुल्का उठाउनुका साथै स्थानीयसँग सोधपुछ र घर आसपासका सिसिटिभी फुटेज अध्ययन गरेको थियो । फुटेजमा एक युवती र तीन युवक शंकास्पद गतिविधिमा देखिएपछि प्रहरीले उनीहरूको खोजी तीव्र बनाएको थियो ।

अनुसन्धान थालेको करिब चार घण्टामै प्रहरीले धरान–३ का २३ वर्षीय सुमित बराइली, उनकी २१ वर्षीया श्रीमती सम्झना बराइली र धरान–९ का १६ वर्षीय मनिष विकलाई पक्राउ गरेको हो । अर्का एक जना भने फरार रहेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईले बताए ।

प्रहरीका अनुसार घरबाट करिब १० तोला सुनचाँदीका गहना र चार लाख रुपैयाँ नगद चोरी भएको प्रारम्भिक जानकारी प्राप्त भएको थियो । पक्राउ परेकाहरूको साथबाट करिब ६ देखि ७ तोला सुनचाँदीका गहना बरामद भएको छ । बरामद गहनाको यकिन तौल भने गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरू यसअघि पनि आपराधिक गतिविधिमा संलग्न रहेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । धरानमा यसअघि भएका अन्य चोरीका घटनामा उनीहरूको संलग्नता रहे–नरहेको विषयमा समेत अनुसन्धान भइरहेको डीएसपी राईले बताए ।

फरार रहेका अर्का व्यक्तिको भारततर्फ भागेको हुनसक्ने आशंका गरिएको छ । उनको खोजी भइरहेको र चाँडै पक्राउ गर्ने प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया